लगानीको सम्भाव्यता अध्ययन गर्न चिनिया टोली भैरहवामा

1.3K

लगानीको सम्भाव्यता अध्ययन गर्न चिनिया टोली भैरहवामा

भैरहवा, ८ पुस।  लगानीको सम्भाव्यता अध्ययन गर्दै चिनियाँ टोली रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा आएको छ । चिनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोलीले लगनीका लागी अध्धयन गर्न यहाँ आएको होे । उक्त टोलीले सिद्धार्थनगर नगरपालिकामा छलफल गरेको छ । साक्षी प्रान्तको बाउजी सहरसँग गतबर्ष सिद्धार्थनगरले भगिनी सम्वन्ध समेत बिस्तार गरेको थियो । छलफलमा चिनियाँ सरकारी टोलीका प्रमुख जानछिङ सिले भैरहवा क्षेत्र आर्थिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको भन्दै लगानी गर्न आफुहरु ईच्छुक रहेको बताउनु भयो ।

साक्षी प्रान्त चिनको मात्र नभई विश्वकै ध्यान आकर्षण गर्ने प्रान्त भएको बताउँदै उहाँले त्यहाँको कृषी उत्पादन, बिद्युतीकरण, औद्योगिकरण लगायतबाट समेत सिक्न सक्ने भन्दै भ्रमणका लागी नगरपालिकालाई निम्ता समेत दिनुभयो । सिंगोयाका उद्योगी सि छिङ क्वारले औद्योगिक उत्पादनमा चिनले गरेको बिकास आफुहरुले नेपालमा पनि विस्तार गर्न चाहेको बताउनु भयो । अन्य क्षेत्रसँगै औद्योगिक बिकास देश बिकासको मेरुडण्ड भएको प्रस्टाउँदै उहाँले यहाँको औद्योगिक बिकासमा सहयोग गर्न समेत आफुहरु तयार रहेको बताउनु भयो । उहाँले यहाँको सरकारी र निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने समेत बताउनु भयो । लुम्बिनीको मात्रै प्रचार गर्न सके नेपालले यसबाट ठुलो लाभ लिन सक्ने उहाँको भनाई थियो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्र्रसाद अधिकारीले नेपालको प्रमुख व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गइरहेको यो जिल्लामा बुद्धको जन्मस्थल लुम्बिनी, निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा–ब्यापारीक मार्ग बिस्तार, काली गण्डकी कोरिडोर, विशेष आर्थिक क्षेत्र (सेज) को संचालनको तयारी, केरु–लुम्बिनी रेल मार्गजस्ता योजनाहरु रहेका कारणले यो क्षेत्रमा लगानी गरेर चिनियाँ टोलीले समेत ठुलो फाईदा लिन सक्ने बताउनु भयो ।

उहाँले मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरता कायम हँुदै गएकाले लगानीको वाताबरण समेत सिर्जना भएको बताउनु भयो । नगरपालिकाका बैदेशिक सल्लाहकार एवं संस्कृति बिद प्रा.डा. गितु गिरीले शताब्दी देखि नै नेपाल र चिन बिच घनिष्टता रहेको चर्चा गर्दै मित्रतालाई लगानीमा बदल्न आग्रह गर्नुभयो । उहाँले चिनमा लाखौ बौद्धमार्गीहरु रहेको र तिनीहरुलाई बुद्धजन्मस्थल लुम्विनीमा कम्तीमा एकपटक दर्शन गराउने वाताबरण सिर्जना गराउन टोलीलाई आग्रह गर्नुभयो । रुपन्देही पर्यटन, कृषी, उद्योग क्षेत्रमा प्रचुर सभांवना बोकेको क्षेत्र भएकाले ढुक्क भएर लगानी गर्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, कार्यकारी अधिकृत यमबहादुर कुंवर, बरिष्ठ ईन्जिनियर शैलेन्द्रकुमार श्रेष्ठ, बरिष्ठ अधिकृत गणेश क्षेत्री, इन्जिनियर जीवन ज्ञवाली, अधिकृत शेखरनाथ पन्थी, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, उद्योग ब्यापार संगठनका महासचिव अनिल ज्ञवाली, बलबहादुर आचार्य लगायतको सहभागिता रहेको थियो ।