
बुटवल, १४ पुस । प्रतिनीधि तथा प्रदेश सभाका निर्वाचन भएलगत्तै छड तथा सिमेन्टमा चर्को मुल्य बृद्धि भएको भन्दै व्यबसायीले मुल्यबृद्धि फिर्ता गर्न उद्योगीसंग माग गरेका छन् । रुपन्देहीका हार्डवेयर व्यबसायीहरुको संस्था रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघले उद्योगीले छड र सिमेन्टमा बिनाकारण मुल्य बृद्धि गरेको भन्दै तत्काल बृद्धि गरिएको मुल्य फिर्ता गर्न माग गरेको हो ।
संघले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा लोड सेडिङ् नभएको, डलरको भाउ नबढेको, बिरगंञ्ज बाहेक अन्य नाकाबाट सहज रुपमा क्लिङ्कर आयात भईरहेको, भारतमा समेत क्लिङ्करको भाउ नबढेको, स्वदेशमै प्रसस्त मात्रामा क्लिङ्कर मौज्दात रहेको लगायतका कारणले मुल्य बृद्धि गर्नुपर्ने कुनै कारण नभएको संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो ।
त्यस्तैगरी मौकाको फाईदा छोपेर ट्रकले ढुवानी भाडा समेत बढाएको व्यबसायीको आरोप छ । जसले उपभोक्तालाई दोहोरो मार परेको र व्यबसायिलाई मुल्य बृद्धि फिर्ता गराउन र बढाईएको ढुवानी भाडा फिर्ता हुने वातावरण बनाईदिन सरकारसंग माग गरिएको छ । मंसिर मसान्त सम्म ७३ रुपैंया प्रतिकिलो रहेको छडको उपभोक्ता मुल्य हाल ८० रुपैंया प्रतिकिलो भएको छ ।
त्यस्तै ६६० रुपैंया प्रतिबोरा रहेको पिपिसी सिमेन्टको मुल्य हाल ७४० रुपैंया पुगेको संघका उपाध्यक्ष विष्णु बरालले जानकारी गराउनु भयो । त्यस्तै ओपिसी सिमेन्टमा पनि उत्तिकै मुल्य बृद्धि भएको छ । पिपिसीको तुलनामा ओपिसी सिमेन्टको मुल्य बोरामा करिव सय रुपैंयाको फरक पर्ने व्यबसायीहरु बताउँछन् । त्यस्तै चुनाव अंगाडीसम्म प्रति १० टनको २१ हजार रुपैंयामा ढुवानी गर्ने ट्रकले हाल २७ हजार रुपैंया लिने गरेको उहाँले बताउनु भयो ।
एक हप्तादेखि बिरगञ्ज नाकाबाट भित्रिने क्लिङ्कर सहज रुपमा नभित्रिएको भन्दै उद्योगीले कृतिम अभाव देखाएर मनोमानी ढंगले मुल्य बृद्धि गरेको व्यबसायीको आरोप छ । ‘के कति कारणले कुन कुन शिर्षकमा मुल्य बृछि गर्नुपर्ने हो, उपभोक्तालाई जानकारी हुनुपर्दछ ।’ अध्यक्ष मरासिनीले भन्नुभयो–‘सरकार तथा प्रशासनबाट उद्योगहरुमा अनुगमन गरि क्लिङ्करको मौज्दात, खरिद सामान चेकजाँच गरि आम उपभोक्ताले उचित मुल्यमा छड सिमेन्ट पाउनु पर्छ भन्ने हाम्रो माग हो ।’
व्यबसायीहरुको माग सुनुवाई नभए बिक्रि वितरण बन्द गर्ने चेतावनी दिएका छन् । उपभोक्तलाई चर्को मुल्यमा सामान बेच्न सक्दैनौं ।’ अध्यक्ष मरासिनीले भन्नुभयो–‘शान्तिपूर्ण रुपमा हाम्रो आन्दोलन हुन्छ, बिक्रि वितरण बन्द गछौं ।’