‘प्रेस स्वतन्त्रता विरोधी कानुन बन्ने खतरा’

1.3K

‘प्रेस स्वतन्त्रता विरोधी कानुन बन्ने खतरा’

बुटवल, २२ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघीयतामा स्थानीय र प्रदेशले बनाउने कानुन प्रेस स्वतन्त्रता विरोधी कानुन बन्ने खतरा रहेको औंल्याउनु भएको छ । उहाँले स्थानीय तह र प्रदेशलाई छुट्टै ऐन बनाउने अधिकार भएकाले आमसञ्चार बुझेको कानुन बन्न नसक्ने बताउनु भयो ।

सूचना विभाग काण्ठमाडौंको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा शनिबार बुटवलमा भएको पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र यसका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकार महासंघका जिल्ला शाखा र पत्रकारहरुले सञ्चारमैत्री कानुन बनाउन खबरदारी गर्नुपर्ने बताउनु भयो । ७ सय ६० संसद रहेकाले त्यहाँका जनप्रतिनिधिलाई सञ्चारमैत्री कानुन बनाउन अब महासंघले पहल गर्नुपर्ने बेला आएको उहाँको भनाई छ ।

पत्रकारिताको विकास, प्रेस स्वतन्त्रता र यसका चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै नागरिकका रुपमा पत्रकारले प्रेस स्वतन्त्रताको अधिकार पाएको र यसलाई कार्यान्वयन गर्न आग्रह उहाँले आग्रह गर्नुभयो । पत्रकारले आचार संहिताको पालना गर्नु दायित्व भएको बताउँदै उहाँले प्रविधिको विकासले चुनौती थपेकाले त्यसलाई आत्मसाथ गर्ने बेला आएको उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले पत्रकारिता पेशा मात्रै नभई समाजसेवा पनि भएको बताउनु भयो । पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार माधव नेपालले स्थानीय सञ्चार माध्यमको विकास र चुनौती बिषयक कार्यपत्र प्रस्तुत गर्दै प्रविधिमा मात्रै लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय सञ्चारमाध्यम निल्नु न ओकल्नुको अवस्थामा पुगेकाले अब यसको व्यवस्थापनका लागि सबै पक्ष सुध्रन आवश्यक रहेको बताउनु भयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईले स्थानीय सञ्चारमाध्यमले समाजका लागि ठूलो योगदान दिएको भन्दै समस्याग्रस्त सञ्चारमाध्यमलाई दिगो बनाउन मर्जरमा जान सुझाव दिनुभयो । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसि, उपाध्यक्ष दिनेश पाण्डे, सचिव रामप्रसाद आचार्य लगायतले बोलेका थिए ।