
बुटवल, २२ पुस । शुक्रबार देवदहमा भएको हत्या काण्डको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान टोली गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
शुक्रबार करिव सवा ११ बजेको समयमा रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ खैरेनीका ३५ वर्षीय बसन्त पौडेललाई दुेवदह २ ढेकावर स्थित आफ्नै फर्निचर उद्योगमा गोली हानी हत्या भएको थियो । छातीमा गोली लागि अचेत भएका पौडेललाई लुम्बिनी अञ्चल अस्पताल ल्याउँदा अस्पतालले मुल्युको घोषणा गरेको थियो ।
उक्त घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई घटनामा संलग्न ब्यक्तिहरुको पहिचान एवं पक्राउ गर्नका लागि संघिय प्रहरी ईकाई कार्यलय भैरहवाले प्रहरी नायव उपरीक्षक भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान कार्य सुरु गरेको बताईएको छ ।
हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउनकालागि बिभिन्न संघसंस्थाले दवाव सिर्जना गरेका छन् । रुपन्देहीमा रहेका व्यबसायिक संघसंस्था तथा राजनीतिक दलहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरि हत्यामा संलग्नलाई यथासक्य चाँडो पक्राउ गर्न र कडा कारवाही गर्नकालागि प्रहरी प्रशासन समक्ष माग गरेका हुन् ।
यसैविच रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघले रुपन्देहीको देवदहका व्यबसायी बसन्त पौडेल पौडेलमाथि भएको हत्याको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघले शनिबार प्रेस विज्ञप्ती जारी गरि हत्या जघन्य अपराध भएकाले हत्यामा संलग्न जो कोही भएपनि तत्काल प्रकाउ गरि कानुनी कारवाहीको माग गरेको हो ।
संघका अध्यक्ष सुनिल मरासिनीद्वारा जारी विज्ञप्तीमा अपराधिक गतिविधीमा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरि कारवाही गर्न र जिल्लामा शान्ति सुरक्षाको वातावरण बनाउन माग गरिएको छ । त्यस्तै उक्त हत्याको नेपाली काँग्रेसले पनि निन्दा गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले एक प्रेस विज्ञप्ती जारी गरि दोसीलाई तत्काल पहिचान गरि कारवाही गर्न माग गर्नुभएको छ । देवदहमा एक वर्ष भित्र भएका यस्ता हत्याका घटनाले सुरक्षा निकायमाथी समेत प्रश्न उठाएकोले सबै खालको स्रोत साधन स्रोत प्रयोग गरि हत्यारालाई कानुनी कठघरामा ल्याउन सुरक्षा निकायललाई उहाँले विज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।
बुटवलमा कृयाशिल बिभिन्न व्यबसायिक सघंसंस्थाले संयुक्त विज्ञप्ती जारीगरि युवा व्यबसायी बसन्त पौडेलको हत्याले व्यबसायीहरुलाई स्तब्ध बनाएको उल्लेख गर्दै क्रुर अमानवीय घटनामा संलग्न जोकोही भएपनि तत्काल कानुनी कठघरामा ल्याउन माग गरिएको छ ।