जनताद्वारा स्थिर सरकारको अपेक्षा : भुसाल

1.3K

जनताद्वारा स्थिर सरकारको अपेक्षा : भुसाल

मणिग्राम, २२ पुस । एमाले उपमहासचिव घनश्याम भुसालले जनताले बाम गठबन्धनबाट स्थिर सरकारको अपेक्षा गरेको बताउनु भएको छ । मुलुकमा स्थिर सरकार बन्ने आशाले जनताले बाम गठबन्धनलाई बहुमत दिएको उल्लेख गर्र्दै उहाँले स्थिर सरकारको सबैभन्दा ठूलो उद्देश्य धेरै युवाहरुलाई उत्पादनमूलक काममा लगाउने हुनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी ट्रेक्टर समितिको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको शनिबार रुपन्देहीको शंकरपुरमा उद्घाटन गर्दै उपमहासचिव भुसालले उत्पादनबिना राष्ट्र विकसित नहुने बताउनु भयो । राष्ट्रलाई आर्थिक रुपले विकसित गर्न र स्थिर राज्य निर्माण गर्न उत्पादन बढाउनुपर्ने र धेरै भन्दा धेरै युवालाई काममा लगाउनुपर्ने उहाँले ।

आफ्नै पार्टीभित्र पनि आफूले राजनीतिक अर्थशास्त्रको पाठ पढाइरहेको भन्दै उहाँले अहिलेको आवश्यकता कृषि, उद्योग र व्यवसायको विकास गरी सकेसम्म धेरै रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो । कृषि कार्यमा प्रयोग हुने ट्याक्टर आयातमा लगाइएको भ्याट हटाउन उद्योगीहरुले माग गरेपछि रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहनुभएका भुसालले ट्रयाक्टर आयातमा लगाईएको भ्याट हटाउन पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेक्टर महासंघका केन्द्रीय अध्यक्ष प्रदिपकुमार उदयले भारतबाट आयात गरिने ट्याक्टरमा लगाइदै आएको मूल्य अभिवृद्धि कर हटाउन माग गर्दै आएपनि सुनुवाई नभएको भन्दै भ्याट खारेज नगरिए फेरि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

त्यस अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी ट्रेक्टर समितिका अध्यक्ष खेम गौतमले रुपन्देही जिल्लामा करिव १० हजार टेक्टर सञ्चालनमा रहेपनि ५४० वटा मात्र समितिमा आवद्ध रहेको भन्दै करिव ५ हजार ट्रेक्टरलाई समितिमा आवद्ध गराउन पहल गर्ने बताउनु भयो । उहाँले व्यवसायीले कृषि प्रयोजनका लागि प्रयोग गर्ने ट्रेक्टरमा सरकारले भ्याट लगाउँदा मूल्यवृद्धि भई समस्या परेको भन्दै व्यवसायीहरु राज्यबाट पीडित बनेको गुनासो गर्नुभयो ।

कार्यक्रममा एमाले रुपन्देहीका सदस्य यज्ञ गैरे, काँग्रेसका जिल्ला सदस्य गणेश शर्मा, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य लक्ष्मण खनाल, टेक्टर समितिका निवर्तमान अध्यक्ष उदयबहादुर गुरुङ, व्यवसायी चेतनारायण कंडेल, यातायात मजदूर तथा व्यवसायी भलाई कोषका महासचिव दिनेश फुल्लेल, समितिका महासचिव टेकाप्रसाद अर्याल, दुर्गाबहादुर गुरुङ लगायतले बोलेका थिए ।