न्यूनतम पारिश्रमिक समितिको अध्यक्षमा पत्रकार पराजुली

1.2K

न्यूनतम पारिश्रमिक समितिको अध्यक्षमा पत्रकार पराजुली

काठमाण्डौ, २९ पुस । सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ ।सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा परेका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

को हुन पराजुली ?

पोखरामा रहेर पनि पत्रकारिताको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्व हुन् गंगाधर पराजुली । करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय रहेका कारण पनि पराजुलीको प्रभाव आम पत्रकारहरु माझ राम्रो मानिन्छ । व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेको भएपनि उनी २०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । पोखराको बाराही मा.वि.मा कक्षा ८ मा पढ्दै गरेको अवस्थामा २०४० सालमा कासकी कांग्रेसले पोखराको न्यूरोडमा वृक्षरोपण गरेर बी.पी. स्मृति दिवस मनाउँदै गर्दा कांग्रेसका आम नेताहरुसंगै उनी पनि पक्राउ गरेका थिए ।

त्यसपछि २०४६ सालको जनआन्दोलन ताका उनी चापाकोट गा.वि.स. वडा नं. ७ (हाल पोखरालेखनाथ महानगरपालिका वडा नं. २३) स्थित सिद्ध बराह मा.वि.मा शिक्षक थिए । शिक्षक भएर पनि पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय भएको भन्दै प्रहरी सुरक्षाकर्मीहरुले विद्यालय घेरा हाली उनलाई पक्राउ मात्र गरेनन, निर्मम कुटपिट र यातना दिंदै ८र १० घण्टा पैदल हिडाउँदै पोखरा ल्याएर करिब २ महिनासम्म जेलमा राखे ।

२०४६ चैत्र २६ गते राति पञ्चायती व्यवस्थाको अवसान र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको घोषणा भएपछि मात्र उनी जेलमुक्त भएका हुन् । स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकार सहित पत्रकारितामा विशेष रुचिका कारण पत्रकारितामा होमिएका पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

प्रधानमन्त्री तथा काँग्रेश सभापति शेरबहादुर देउवाको हातबाट प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गर्दै गंगाधर पराजुली ।२०६२÷०६३ को जनआन्दोलन ताका पत्रकार महासंघको केन्द्रीय उपसभापति रहेका समयमा पोखरा र काठमाडौं लगायत विभिन्न स्थानमा आन्दोलनका कार्यक्रममा सहभागी हुँदा कैयौं पटक पक्राउ गरेका थिए ।

महासंघ र युनियनका साथै नेशनल युनियन अफ जर्ना्िलष्टको केन्द्रीय समितिमा रहेर काम गरेका कारण मुलुकका अग्रज, समकालिन र पत्रकारितामा सक्रिय सबै तहका पत्रकारहरुसंग पराजुलीको व्यक्तिगत सम्पर्क र सम्बन्ध छ ।

यसका साथै गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु , कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय रहेकाले पनि पराजुलीको सम्बन्ध विभिन्न जिल्लाहरुमा पनि त्यत्तिकै छ ।

नेपाली कांग्रेस निकट पत्रकारहरुको रुपमा चिनिएका उनको स्वभाव र व्यवहारका कारण गैर राजनीतिक पत्रकारहरु पनि उनीसंग नजिक छन् । जिल्ला भ्रमणका क्रममा उनि सबै बिचार बोक्ने पत्रकार संग भेट गर्न रुचाउछन ।

स्पष्ट वक्ता र खुल्ला स्वभावका पराजुलीलाई राष्ट्रिय समाचार समितिको संचालक समितिको सदस्यमा नियुक्त गरिएको भएपनि केही समय बाँकी छँदै उनले त्यो पदबाट राजीनामा दिएका थिए । आफूले राससको महाप्रवन्धक बन्ने चाहना राखेको भएपनि माओवादीका प्रभावशाली नेता जनार्दन शर्माका भाइलाई राससको महाप्रवन्धक बनाइएपछि गत जेठ महिनामा उनले सदस्य पदबाट राजीनामा गरेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीकोे हातबाट पत्रकार महासंघ कास्कीको सम्मान ग्रहण गर्दै गंगाधर पराजुली ।पराजुली राससको बोर्ड सदस्य रहेको समयमा राससकर्मीको सुविधा र दक्षता अभिवृद्धिका लागि समेत केही महत्वपूर्ण काम भएका थिए । यसका साथै राससको समाचार सेवालाई थप गुणस्तरीय बनाउन र मुलुकभित्र र बाहिरका सबैजसो पत्रपत्रिका, एफएम, रेडियो, टेलिभिजन र अनलाइन सेवाको पुहँचमा पुर्याउन उनले गरेको पहल संचारकर्मीको पटक पटकको फेरबदलका कारण सम्भव हुन सकेको थिएन ।

पत्रकारितामा पराजुलीको सक्रियता र योगदानको प्रशंसा गर्नेहरु पनि पर्याप्त छन् । उनले एफएम रेडियोमार्फत विभिन्न व्यक्तित्वसंग अन्तर्वार्ता लिने र समाचार वाचन गर्ने शैलीमात्र नभएर उनको लेखनशैली मन नपराउने कमै छन् । जसका कारण उनको कार्यशैलीको प्रशंसा स्थानीय स्तरमा मात्र नभएर देशभित्र र बाहिर पनि हुने गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति रहेको बेला उनी दक्षिण कोरियामा नेपाली पत्रकारको नेतृत्व गरि एक कार्यक्रममा सहभागी भएका थिए । एशियन जर्ना्िलष्ट एशोसिएशन आजाले एशियाली मुलुकसहित अन्य मुलुकका पत्रकारहरुलाई सहभागी गराएको कार्यक्रममा पराजुलीले नेपाली प्रेसले तत्कालिन अवस्थामा भोग्नुपरेका चुनौती र नेपालमा प्रेस स्वतन्त्रताका अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेपछि उनलाई एशिएन जर्ना्िलष्ट एशोसिएशनले एक हजार डलरको पुरस्कार प्रदान गर्यो । उनले त्यो पुरस्कारको रकम नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेका थिए । यस बाहेक पराजुलीले विभिन्न राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेका छन् ।

कानुन, न्याय तथा संसदिय मामिलामन्त्री यज्ञबहादुर थापाको हातबाट बालकृष्ण उग्रतारा राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गर्दै गंगाधर पराजुली ।नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा संचालन गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाज जेसीसले प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार, पोखरा एक्सप्रेस पाक्षिकले संचालन गरेको बालकृष्ण उग्रतारा स्मृति राष्ट्रीय पत्रकारिता पुरस्कार , नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मान र पुरस्कार समेत उनले प्राप्त गरेका छन् ।

पत्रकार महासंघले प्रदान गरेको पुरस्कार पुर्व प्रधानमन्त्री शुसिल कोईरालाको हातबाट र प्रेस युनियनले प्रदान गरेको पुरस्कार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट उनले लिएका हुन । संचार र पत्रकारितासंग सम्बन्धित एवं अन्य संघ–संस्थाबाट पनि उनी सम्मानित र पुरस्कृत भएका छन् ।
पत्रकार पराजुलीले विभिन्न मुलुकको भ्रमण गरि त्यहाँ रहेका नेपाली पत्रकारहरुको अवस्था र सम्बन्धित मुलुकको पत्रकारिताको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् ।

सन् २००६ मा दक्षिण कोरियाको दुई साता लामो भ्रमण गरेका पराजुलीले सन् २०१३ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गतको पिस किपिङ्ग मिसनमा द्वन्दग्रस्त मुलुक हाइटीको पनि दुईसाता लामो भ्रमण गरेका थिए । यसैगरी सन् २०१४ मा जापान, सन् २०१५ मा अमेरिका र सन् २०१६ मा वेलायतको भ्रमण गरेको पराजुली ती मुलुकमा रहेका नेपाल पत्रकार महासंघका शाखाहरुले आयोजना गरेकाा सम्मान तथा अन्तर्रा्िष्ट्रय कार्यक्रममा सहभागी भएका थिए ।

पूर्व प्रधानमन्त्री शुसिल कोईरालाको हातबाट दयाशंकर स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गर्दै गंगाधर पराजुली ।नेपाल र सम्बन्धित देशको पत्रकारिताको अवस्थाका बारेमा ती कार्यहरुमा अनुभव आदान–प्रदान समेत हुने गरेको थियो । यसका साथै भारत, चीन, थाइल्याण्ड, डेमोनिकन रिपव्लिक लगायतका अन्य मुलुकमा पनि उनले भ्रमण गरेका छन ।

काठमाडौंमा रहेर अग्रज र समकालिन पत्रकारहरुसंग पनि त्यत्तिकै सम्पर्कमा रहेका तथा काठमाडौं बाहिर मोफसलमा क्रियाशील आम पत्रकारहरुको चाहना र भावना बुझ्न सक्ने व्यक्तित्वको रुपमा पराजुलीलाई लिन सकिन्छ । उनको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति जस्ता संचारसंग सम्बन्धित संस्थामा काम गरेको अनुभव, नेपाल शिक्षक संघ , एमनेष्टी ईन्टरनेशनल , नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा संलग्नता एवं पोखरामा नै दैनिक पत्रिका र एफएम रेडियोमा काम गरेका थिए । citypokhara.com