तिलोत्तमा नगरपालिकालाई पहिलो गासमै ढुङ्गा

1.3K

तिलोत्तमा नगरपालिकालाई पहिलो गासमै ढुङ्गा

बुटवल, १९ माघ । तिलोत्तमा नगरपालिकाले हालै पारित गरेको शिक्षा नियमावली, २०७४ का बिरुद्ध सामुदायिक बिद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् ।

नगरसभाबाट शिक्षा नियमावली बनाउँदा शिक्षकहरुलाई छलफलमा नल्याईएको तथा बनेको नियमावली नै शिक्षकहरुको भावना विपरित भएकाले आन्दोलनमा उत्रिनु परेको तिलोत्तमा २ योगीकुटीमा रहेको जनजाग्रिती माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक पौडेलले बताउनु भयो ।

तिलोत्तमा नगरपालिका भित्र ४६ वटा सामुदायिक बिद्यालय छन् । नगरसभा सकिएलगत्तै सबै बिद्यालयका शिक्षकहरुले सामुहिक रुपमा नगरपालिकामा गएर नगरप्रमुख बासुदेव घिमिरेलाई ध्यानाकर्षण गराईसकेका छन् । गत १७ गतेदेखि यहि माघ २५ गतेसम्म शिक्षकहरुले शिक्षा नियमावलीको बिरोध स्वरुप हातमा कालो पट्टि बाँधेर काममा छन् ।

शिक्षा नियमावली ल्याउँदा शिक्षकका पेशागत संघ संस्था तथा प्रअहरुलाई छलफलमा सहभागि नगराउनु सहभागिताको अधिकार हनन् भएको तथा नियमावलीमा व्यबस्था गरिएको व्यबस्थापन समिति गठन, परिक्षा समिति, नगर शिक्षा समिति, शैक्षिक सत्र सुरु भएको १५ दिन भित्र विवरण बुझाउनु पर्ने प्रावधान, सरुवा प्रकृया लगायतका विषयमा शिक्षकहरुको असहमति रहेको उहाँले बताउनु भयो ।

नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष तथा शान्ति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेका अनुसार नियमावलीले पेशागत संघ, संगठनहरुलाई वेवास्ता गरेको छ भने नियमावली बनाउने क्रममा पनि नगरपालिकाले पेशागत संघ, संगठनलाई वेवास्ता गर्यो ।

त्यस्तै व्यबस्थापन समिति गठन प्रकृया साविकको भन्दा धेरै झण्झटिलो र द्वन्द्व बढाउने खालको भएको, नगरपालिकाले शिक्षकलाई सोझै सरुवा गर्न सक्ने प्रावधानले सरुवामा चरम राजनीति हुने र शिक्षकहरु राजनीति कर्मीको पछिपछि हिँड्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना गरेको, सार्वजनिक शिक्षामा नगरपालिकाले आफ्नो दायित्व ग्यारेन्टी नगरेको तथा संस्थागत बिद्यालयका शिक्षकको हकाधिकारमा मौन बसेको उहाँले आरोप लगाउनु भयो ।

नगरपालिकामा भित्रका बिद्यालयका शिक्षकहरुले थप धारणा बनाउनकालागि आगामी २६ गते सर्वपक्षीय भेला आयोजना गरेका छन् । जसमा प्रधानाध्यापक, शिक्षक, बिद्यालय व्यबस्थापन समिति, राजनीतिक दल, पेशागत संघ, संगठनहरु सहभागि हुने र त्यसमा आफ्ना कुराहरु राख्ने तयारी गरिएको उहाँले बताउनु भयो ।

उक्त भेलाले नयाँ धारणा बनाउने तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको शान्ति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक लामिछानेले बताउनु भयो ।