
बुटवल, २२ माघ ।आईतबार भएको प्रदेश पाँचको पहिलो प्रदेश सभा बैठकमा ६ दल मध्ये पाँच दल सहभागी हुँदा राजपाकी बिना पन्त थिईनन् । राजपाको तर्फबाट बिना एक मात्र प्रदेश सभा सदस्य हुन् । उनले अहिलेसम्म सपथ समेत गरेकी छैनन् । निर्वाचन आयोगको वेवसाईडमा प्रदेश सभा सांसदहरुको सूचिमा व्यक्तिगत विवरण भएपनि बिनाको फोटो भने छैन ।
निर्वाचन आयोगले वेवसाईडमा राखेको व्यक्तिगत विवरणमा बिनाको ठेगाना रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ उल्लेख छ । त्यस्तै पतिको नाम प्रेमराज शर्मा लोहोनी लेखिएको छ । स्रोतका अनुसार लोहोनी राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष सवेन्द्रनाथ शुक्लका साला हुन् ।
सरकारले प्रदेश प्रमुख नियुक्त गरेपछि प्रदेश सभा सदस्यकालागि यहि माघ ७ गते सपथ ग्रहणको कार्यक्रम तोकियो । उक्त कार्यक्रमका बारेमा उनलाई निर्वाचन आयोगले जानकारी गराउने प्रयत्न गरेपनि भेटाउन भने सकेन । अरु सबै सांसदलाई फोनबाट जानकारी गराएको निर्वाचन कार्यालयले उनको फोन सम्म पत्ता लगाउन नसकेपछि खोजतलास गरी घरमै चिठि पु¥याउन गयो । निर्वाचन कार्यालयका कर्मचारीले घर त फेला पारे तर बिनालाई भने भेटाउन सकेनन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले कार्यालयका तर्फबाट खोजी भएपनि घरमै जाँदा समेत बिनालाई भेटाउन नसकिएको बताउनु भयो । निर्वाचन कार्यालयका कर्मचारीले घरमै जाँदा पनि भेटाउन नसकेपछि पार्टीका उपाध्यक्ष शुक्लसंग बुझ्ने प्रयन्त गर्दा समेत शुक्ले भेटाउने बताएपनि बिनाको फोन नम्बर समेत उपलब्ध नगराएको निर्वाचन कार्यालयका कर्मचारीले बताए ।
स्रोतका अनुसार पार्टीभित्र काम गरेकालाई भन्दा पनि नातापातालाई पठाएको भन्ने विषयमा विवाद छ । सोही विवादका कारण बिना सपथ लिन तथा प्रदेश बैठकमा सहभागि नभएकी हुन सक्ने आशंका कतिपयको छ ।यस बिषयमा बुझ्ने प्रयत्न गर्दा पार्टीका उपाध्यक्ष शुक्ले फोन नै उठाएनन् ।
सपथ ग्रहण नगरेसम्म कुनैपनि सदस्य प्रदेश सभा बैठकमा सहभागि हुन मिल्दैन । दल भित्र विवाद भएपनि सदस्यलाई सपथ ग्रहणमा कुनै रोकावट हुँदैन । निर्वाचन आयोगले बिनाका नाममा प्रमाणपत्र जारी गरिसकेकाले पार्टीले बिनालाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई पठाउन पनि सजिलो छैन । सदस्यको निधन भएमा, दल त्याग गरेमा वा पदबाट राजिनामा गरेमा मात्रै दलको सिफारिसमा निर्वाचन आयोगलाई छिनोफानो गर्ने अधिकार हुने निर्वाचन कार्यालयले जनाएको छ ।
आईतबार बुटवल उद्योग बाणिज्य संघको सभाहलमा तोकिएको पहिलो प्रदेश सभा बैठकमा पाँच नम्बर प्रदेशका ८७ जना सांसद मध्ये ८० जना सहभागि भएको प्रदेश सभा सचिव सुरेन्द्र अर्यालले बताउनु भयो । पाँच नम्बर प्रदेश सभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा भएपनि राजपाकी एक मात्रै सदस्य सहभागि नभएपछि ५ दल सहभागि थिए ।