‘सुरक्षित यात्रा सचेतना पुस्तिका ’ विमोचन

1.3K

‘सुरक्षित यात्रा सचेतना पुस्तिका ’ विमोचन

बुटवल ७ फागुन । सुरक्षित यात्राबारे जनचेतना जगाउनकालागि प्रकाशन गरिएको ‘सुरक्षित यात्रा सचेतना पुस्तिका २०७४’ विमोचन गरिएको छ । सुरक्षित यात्रा नेपालले प्रकाशन गरेको सो किताव पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार बुटवलमा बिमोचन गर्नुभएको हो ।

उक्त पुस्तकको बिमोचन गर्दै संघीय संसदका सदस्य समेत रहनु भएको नेता खाँणले सवारी दुर्घटना विश्वयुद्ध भन्दा पनि बढ्ता भयावहको स्थिती भएको उल्लेख गर्नुभयो । उहाँले दुर्घटना न्यूनिकरण गर्नकालागि सरकार, व्यबसायिक संघसंस्था सबैको सबै शक्ति लगाउन पनि आग्रह गर्नुभयो । उहाँले अव बस्ने संसद बैठकमा विषय प्रवेश गराएर न्यूनिकरणकालागि नीतिगत व्यबस्था गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

नेता खाँणले दुर्घटना न्यूनिकरणकालागि भएको प्रयास सकारात्मक रहेको र दुर्घटना न्यूनिकरणकालागि बुटवललाई सेन्टर लिडकै रुपमा अभियान चलाउन आग्रह गर्दै त्यसकालागि आफूले आफ्नो ठाउँबाट प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फरक प्रशंगमा नेता खाँणले प्रदेश पाँचको स्थायी राजधानी पनि बुटवल नै हुने दावी गर्नुभयो ।

सबैको पायक पर्ने भएकाले पूर्ववर्ती सरकारले प्रदेश पाँचको राजधानी बुटवललाई बनाएको बताउँदै सबैकालागि सहज भएको र कसैले सार्न खोजे त्यसमा साथ दिन नसकिने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद बलदेव शर्मा पोखरेल, सुरक्षित यात्रा नेपालका संरक्षक तथा ट्रक व्यबसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले दुर्घटना न्यूनिकरणकालागि एक्लैको प्रयास सम्भव नहुने बताउँदै सबैको उत्तिकै भूमिका रहने बताउनु भएको थियो ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासेले सवारी दुर्घटना भयावह बन्दै गएकाले दुर्घटना न्यूनिकरणकालागि प्रयास थालिएको बताउनु भयो । कार्यक्रममा पुस्तकका प्रधान सम्पादक अधिवक्ता महेन्द्र पाण्डेयले सवारी दुर्घटनाका कारण नेपालमा दैनिक ७ जनाले मृत्यु वरण गर्न बाध्य भएका र दैनिक ४५ जना घाईते हुनु परेको बताउँदै सवारी दुर्घटनाले मानव मृत्युको भयावह रुप धारण गरेको उल्लेख गर्नुभयो ।

पुस्तकको समिक्षा गर्दै लेखक दलबहादुर गुरुङ्ले प्रकाशित पुस्तक राम्रो भएको र पुस्तक पढेर त्यहा भएका कुरालाई व्यबहारमा उतार्ने हो भने २५ प्रतिशत दुर्घटना स्वतः घट्ने बताउनु भयो । त्यस्तै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले सवारी चालक र सडक प्रयोगकर्ता आफै सतर्क नहुने हो भने दुर्घटनालाई कसैले रोक्न नसक्ने बताउनु भयो ।

पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका मानार्थ सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति हरि लम्साल, सल्लाहकार लोकराज पोखरेल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष नारायण भट्टराई लगायतले पुस्तकले धेरै कुरा समेटेकाले दुर्घटना न्यूनिकरणकालागि महत्वपूर्ण आयाम बन्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रम सुरक्षित यात्रा नेपालका सचिव प्रकाश नेपालको सञ्चालनमा भएको थियो भने त्यस अवसरमा पुस्तक प्रकासनमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।