जिसस रुपन्देही विरुद्ध अदालतमा मुद्धा

1.3K

जिसस रुपन्देही विरुद्ध अदालतमा मुद्धा

 

बुटवल, २१ फागुन । जिल्ला समन्वय समिति रुपन्देहीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई नदिजन्य निकासीकालागि टेण्डर आह्वान गरेको भन्दै टेन्डर आह्वान रोक्न माग सहित अदालतमा मुद्धा दायर भएको छ ।

जिल्ला समन्वय समिति रुपन्देही, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख र जिल्ला समन्वय अधिकारीलाई विपक्षि बनाई उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा रुपन्देहीको सैनामैना वडा नं. १ कर्साघाटका विष्णुप्रसाद मिश्र सहित ११ जनाले जिल्ला समन्वय समितिको क्षेत्रधिकार भन्दा बाहिर गई स्थानीय जनताको बासस्थान, घरजग्गा तथा चुरे भावर क्षेत्रमा समेत प्रभाव पार्नेगरी हचुवाको भरमा टेण्डर आह्वान भएको र त्यसलाई रोक्न माग गर्दै मुद्धा दायर गरेका हुन् ।

निवेदकको तर्फबाट अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गर्नुभएको छ । सोही आधारमा अदालतले अन्तरिम आदेशकालागि छलफल गर्न यहि फागुन २७ गते दुवै पक्षलाई बोलाएको छ ।

खोला नाला जिससको क्षेत्राधिकार भित्र पनि नपर्ने र वातावरण संरक्षण ऐनले तोकेको मापदण्ड बाहिर रहेको र वातावरणीय प्रभाव मुल्याङ्कन नै नगरी हचुवाको टेण्डर आह्वान गरिएकोले आफूहरु अदालत जानु परेको मिश्रले बताउनु भयो ।