‘सरकारको बोली र व्यवहार ठिक भएन’

423

‘सरकारको बोली र व्यवहार ठिक भएन’

बुटवल, १७ चैत । निजामती कर्मचारीहरुले सरकारको बोली र व्यवहार निजामती कर्मचारीको विपक्षमा रहेको बताएका छन् । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको शनिबारदेखि बुटवलमा सुरु भएको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्ने अगुवा कर्मचारीहरुले यस्तो बताएका हुन् ।

संगठनका अगुवाहरुले सरकारको व्यवहार र मन्त्री लालबाबु पण्डितको बोलीले देशका सबै कर्मचारीको कामगर्ने मनोवल गिरेको बताएका थिए । नेपाल निजामति कर्मचारी संगठन प्रदेश पाचको आयोजना र जिल्ला कार्यसमिति रुपन्देहीको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले कर्मचारीहरु सरकारले खटाएको ठाउंमा गएको र जान तयार रहेको बताउनु भयो । संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीलाई स्वेच्छिक अवकास दिने कार्यक्रमलाई सरकारले कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनु भयो ।

कार्यक्रममा पूर्व उपाध्यक्ष यज्ञमुर्ती भण्डारी, निवर्तमान उपाध्यक्ष द्वय मानवहादुर विष्ट, टिकाराम अधिकारीलाई सम्मान गरिएको थियो । संगठन रुपन्देहीका अध्यक्ष केशब भट्टराईका अनुसार दुई दिनसम्म चल्ने कार्यक्रममा संगठन संचालन कौशलता, समसामयिक राजनीति लगायतमा प्रशिक्षण दिइने छ । महासचिव रेवन्त गौतमले केही स्थानीय निकायमा देखिएको कर्मचारी र जनप्रतिनिधि वीचको द्वन्द्व न्यूनिकरणकाबारेमा पनि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा संगठनका केन्द्रीय महासचिव रेवन्त गौतम, प्रशिक्षण विभाग सचिव विबेक घिमिरे, एमाले रुपन्देही कार्यवाहाक अध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाल निजामती कर्मचारी संगठन प्रदेश पांचका संयोजक दधिराम मरासिनी, सचिव शेरबहादुर केसी लगायतले कर्मचारीका समस्या लगायतका बारेमा चर्चा गरेका थिए । प्रशिक्षणमा १२ जिल्लाका १ सय कर्मचारीको सहभागिता रहेको छ ।