बुटवल,चैत । प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले प्रदेशको आर्थिक र सामाजिक अवस्था झल्किने स्थिति पत्र प्रदेश सभाको विहिवारको वैठकमा सार्वजनिक गर्नुभएको छ ।
स्थितिपत्र सार्वजनिक गर्दै मूख्यमन्त्री पोखरेलले प्रदेशको हिसावले प्रदेश नं. ५ औसतमा चौथो स्थानमा रहेको भन्दै सवैको साझा प्रतिवद्धता भए प्रदेशलाई सम्मृद्ध प्रदेश वनाउन सकिने वताउनु भयो ।
उहाँले प्रदेशको विकास र सम्मृद्धिकालागि प्रदेश सभाका सांसदहरुलाई समेत साथ लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सांसदहरुलाई पनि यो अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
प्रदेशको विकास कृषि, उद्योग र पर्यटन क्षेत्रलाई नै प्राथमिकतामा राखेर गर्न सकिने भन्दै उहाँले प्रदेश नं. ५ हिमाल, पहाड र तराई मिलेर वनेकोले यो प्रदेश अन्य प्रदेश भन्दा अलग पहिचान भएको प्रदेशको रुपमा रहेको छ भन्नुभयो ।
लुम्विनीजस्तो पवित्र स्थल हामीसंग छ, दक्षिण एसियाकै ठूलो उपत्यका दाङ हामीसंगै छ र रुकुमको पुथा हिमाल लगायत दर्जनौं आधारस्तम्भ छ भन्दै मूख्यमन्त्री पोखरेलले भन्नुभयो– यो प्रदेशलाई सम्मृद्ध प्रदेश वनाउन सकिने प्रशस्त आधार छन, त्यसका लागि हामी सवैको सकृय योगदान जरुरी छ ।
मूख्यमन्त्री पोखरेलले स्थितिपत्र सार्वजनिक गर्दै प्रदेशको समग्र गरिबीको दर २५ दशमलव ८ प्रतिशत रहेको छ भन्दै गरिबीको दरलाई घटाउन आवश्यक काम गरिने वताउनु भयो ।
मानव विकास प्रतिवेदनका अनुसार यस प्रदेशको औसत मानव विकास सूचकाङ्क शून्य दशमलव ४६१ प्रतिशत रहेको छ जुन राष्ट्रिय औसत भन्दा कम हो । यस अनुसार यो प्रदेश तेस्रो उच्च मानव विकास सूचकाङ्क भएको प्रदेशमा पर्दछ, उहाँले भन्नुभयो ।
प्रदेशमा एउटा उपक्षेत्रीय अस्पताल, ३ वटा अञ्चल अस्पताल, ८ वटा जिल्ला अस्पताल, ४ वटा साधारण अस्पताल, ३२ वटा जति प्राथमिक स्वास्थ्य केन्द्र, ५६८ वटा जति स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य युनिट, ६ वटा अन्य सार्वजनिक संस्था र एक सयवटा गैर सरकारी स्वास्थ्य संस्थाहरु गरी ७ सय ५२ वटा स्वास्थ्य सम्बन्धी संस्थाहरु संचालनमा रहेका छन् । स्वास्थ्य संस्थाहरुको संख्याको दृष्टिले यो प्रदेश चौथो स्थानमा रहेको छ ।
मूख्यमन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको स्थितिपत्रमा प्रदेशको अपेक्षित आयु ६७ वर्ष छ भने जुन नेपालको अपेक्षित आयु ६८ दशमलव ८ वर्ष भन्दा केही कम रहेको छ । तुलनात्मक रुपले यो प्रदेश पाँचौ स्थानमा रहेको उल्लेख छ ।
यसैगरी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कुल १ सय ९ वटा स्थानीय तहहरु रहेका छन् । स्थानीय तहको संख्याको हिसाबले यो प्रदेश चौथौ स्थानमा रहेको छ । यो प्रदेश ६ वटा पहाडी र ६ वटा तराईको जिल्लाहरु मिलेर बनेको छ । करीब ५४ प्रतिशत भूभाग तराई क्षेत्रमा पर्दछ । पूर्वमा प्रदेश नं ४, उतरमा प्रदेश नं ४ र ६, पश्चिममा प्रदेश नं ७ संग सिमाना जोडिएको छ भने दक्षिणमा भारतसंग सिमाना जोडिएको छ ।
भैरहवा र नेपालगञ्ज गरी दुई वटा प्रमुख भन्सार नाका यस प्रदेशमा रहेका छन् । पूर्वमा त्रिवेणीधामदेखि पश्चिममा राजापूरसम्म र उत्तरमा सिस्ने पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म यो प्रदेश फैलिएको स्थितिपत्रमा उल्लेख छ ।
स्थितिपत्रमा देशको कुल जनसँख्याको ४० प्रतिशत आर्थिक रुपले सक्रिय रहेकोमा यो प्रदेशमा यसको प्रतिशत ४१ प्रतिशत रहेको छ भने अर्घाखाँची जिल्लामा सबैभन्दा बढी ५१ दशमलव ७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय छ भने सबभन्दा कम बाँकेमा ३५ प्रतिशत रहेको उल्लेख छ ।
यसैगरी प्रदेशको आर्थिक वर्ष २०६७÷६८ मा २ सय १० अर्व बराबरको गार्हस्थ्य उत्पादन थियो जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको करीब १४ दशमलव ८ प्रतिशत हो । यसैगरी आज शुक्रवार वस्ने प्रदेश सभाको वैठकमा प्रदेश सभाको आर्थिक वर्ष २०७४÷०७५ को वजेट प्रस्तुत गरिने भएको छ ।