माछा मिठा कांडा तिता – कृषि पेशा संकटमा

617

माछा मिठा कांडा तिता – कृषि पेशा संकटमा

paddyfishश्याम पोखरेल/ बाउवाजेको पेशा संटकमा पर्ला भन्ने चिन्ताले सताउन थालेको छ, फर्साटिकरका किसानलाई । परापूर्वक कालदेखि बाउवाजेले गर्दै आएको कृषि पेशामा क्रमस ह्रास आउन थालेपछि किसानहरु चिन्तित बनेका हुन् ।
वर्षौ वर्षदेखि कृषि पेशा अगाल्दै आएका उनीहरु अहिले गर्दै आएको पेशालाई निरन्तरता दिने की अर्को पेशा अगाल्ने भन्ने दोधारमा परेका छन् । समयमा विउमल नपाउने र उत्पादन भएको अन्नवालीका साथै तरकारीले उचित मुल्य र वजार नपाउंदा रुपन्देहीको फर्साटिकर ३ का किसानहरु निरास बनेका छन् । कृषि प्रधान देशमा कृषि पेशा फस्टाउन नसक्दा अहिले समस्या भएको उनीहरु बताउछन् ।
विउमल महँगोमा खरिद गर्नुपर्ने र उत्पादन भएको अन्न तथा तरकारी सस्तो मुल्यमा बेच्नुपर्ने हुंदा किसानले सधै घांटा खानुपर्ने पर्साटिकर ३ सखुवानीका किसान टिकाराम अधिकारी बताउनुहुन्छ ।
लामो समयदेखि कृषि पेशा गर्दै आएका किसान अधिकारीले कृषि पेशाबाट फाईदा भन्दा उल्टै घाटा लाग्न थालेको गुनासो गर्नुभयो । समयमा विउमल नपाउने, उत्पादन भएको वस्तुको बजार व्यवस्थापनको समस्या र सिंचाईको अभावले परापूर्व कालदेखि गर्दै आएको पेशा संकटमा पर्ने अवस्था आएको किसानहरुको भनाई छ ।
करिव ३ विघा भन्दा बढी जग्गामा धानवाली र २५ कठ्ठा बढी जग्गामा व्यवसायीक ढंगले तरकारी खेती गर्दै आएका टिकाराम अधिकारीले अर्को वर्षदेखि पेशा परिवर्तन गर्ने सोंचमा हुनुहुन्छ । आफुले गर्दै आएको पेशाबाट ऋण लाग्न थालेपछि जीविका चलाउनका लागि कुन पेशा अगाल्ने भन्ने समस्याले अधिकारीलाई पिरोल्न थालेको छ ।
लगानी, बजार व्यवस्थापनको अभाव र सिंचाईको असुविधाका कारण फर्साटिकरकी महिला किसान मिना भट्टराईको गुनासो पनि उस्तै छ । उहांका अनुसार घरखर्च चल्ला भनेर ऋण खोजेर जेनतेन गरेको कृषि पेशाबाट उल्टै घांटा लाग्ने गरेको छ ।
त्यस्तै गहु र धान खेतिबाट घांटा लाग्न थालेपछि तरकारी खेतीमा लागेका रामप्रसाद शर्माले पनि तरकारी उत्पादन गर्दापनि घांटा लागेपछि आजभोली खेतिपातीमा मन जान छोडेको बताउनुहुन्छ । खेतिपातीबाट दैनिक घरखर्च र छोराछोरीको पढाई खर्चपनि धान्न नसकेपछि सो क्षेत्रका किसानहरु क्रमस व्यवसायीक रुपमा खेती नगर्ने सोंच बनाएका छन् ।
राज्यले व्यवसायीक रुपमा खेतिपातीका साथै तरकारी उत्पादन गर्ने किसानलाई सहुलियत व्याजमा ऋण र अनुदान दिने गरेपनि फर्साटिकर ३ सखुवानीका किसानले अहिलेसम्म केही नपाएको गुनासो गरेका छन् ।
अघिल्लो वर्ष जिल्ला कृषि कार्यालय भैरहवामा गई सिंचाईका लागि स्यालो ट्युवेल र विउमलको उचित व्यवस्थापनको माग गरेपनि केही नपाएको उनीहरुको गुनासो छ ।
सरकार र दलका नेताहरुले किसानका समस्याबारे बुझ्न नसकेका कारण कृषि प्रधान देशको पेशा संकटमा परेकाले भारतको परनिर्भतामा वाच्नु पर्ने अवस्था आएको किसानहरुको भनाई छ । किसानका लागि सरकारले माछा मिठा र कांडा तिताको व्यवहार गर्दै आएको गुनासो किसानहरुको छ ।
जिल्ला कृषि कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले कार्यालयले किसानहरुका लागि आवश्यक अनुसार तालिम दिने र अनुदान पनि दिन सकिने बताउनुभयो । अधिकृत सापकोटाले केही गर्छु भनेर कार्यालयमा आउने कूनैपनि किसानलाई रित्तोहात नफर्काउने बताउनुभयो । तर किसानहरुले भने कार्यालयका प्रमुखले भने जस्तो कार्यालयवाट खासै सहयोग नपाएको वताउँदै आएका छन् ।