अर्घाखाँची, २९ मंसिर । कम मिहिनेत थोरै लगानी र अरु च्याउ भन्दा महंगोमा बिक्री हुने भए पछि अर्घाखाँचीमा सिताके च्याउ प्रति किसान आकर्षित भएका छन । ओखर, उत्तीस कटस, धार्ने जस्ता काठको मुडामा उत्पादन गरिने यो च्याउको लागि छुटै घर बनाउन नपर्ने, बढि मिहिनेत पनि नलाग्ने र एक पटक लगाए पछि चार पाँच बर्षसम्म उत्पादन भईरहने भएपछि सिताके च्याउ प्रति किसानको आकर्षण बढेको हो । अरु च्याउ भन्दा बढि स्वादिलो हुने र यो च्याउको मुल्य पनि अन्य च्याउको भन्दा दोब्बर हुने किसानहरु बताउँछन । च्याउ खेतीमा रमाएका किसान गणेश वञ्जाडेका अनुसार अन्य च्याउको मुल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैंया सम्म पर्छ भने सिताके च्याउको मुल्य प्रतिकिलो ५ सय देखि ७ सय रुपैंया सम्म पर्छ । काठमाण्डौ, पोखरा लगायतका शहरमा प्रती किलो २ हजार देखि ५ हजार रुपैया सम्म पर्ने यो च्याउको ब्यबसायिक उत्पादन बढाउन सके थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने र यसको माग पनि बढी भएको किसानहरु बताउँछन । च्याउ लगाएको काठको मुडो नकुहिँदासम्म निरन्तर उत्पादन पाईने हुँदा यसको खेति गर्न पनि सहज देखिन्छ ।