वामन जयन्ती

1.3K

वामन जयन्ती

नारायण भट्टराई /

भाद्र महिनाको शुक्ल द्वादशीकाे दिन भगवान् विष्णुको वामन अवतारको पूजा–आराधना विधिपूर्वक गर्ने प्रचलन छ। यदि यो तिथि श्रवण नक्षत्रमा परे अझ शुभ मानिन्छ। यस दिन भक्तजनहरूले उपवास बसेर भगवान् विष्णुको पूजा गर्ने परम्परा रहेको छ।
प्राचीन कालमा दैत्यराज बलि नामक एक पराक्रमी राजा थिए। उनी दितिका छोरा तथा इन्द्रका नातेदार मानिन्थे। बलि राजाले तीनै लोक जितिसकेका थिए। इन्द्रपुरी पनि आफ्नो अधिकारमा लिन उनले अश्वमेध यज्ञ गर्न थाले। विशाल यज्ञमण्डप तयार गरी ८८ हजार ऋषि-मुनिलाई निमन्त्रणा गरेर यज्ञ आरम्भ भयो।
उता देवताहरू बलिको प्रभाव र अत्याचार सहन नसकी भगवान् विष्णुको शरणमा पुगे। उनीहरूले आफ्नो दुःख निवेदन गरेपछि भगवान् विष्णुले भने–
“बलिले शक्ति र सामर्थ्यले नभई धार्मिक परम्परा र धर्मपालन गरेर देवलोकमा अधिकार जमाएका छन्। त्यसैले म पनि धर्मको आधारमै यो काम गर्नेछु। तिमीहरूले अदितीलाई भन्नू– उहाँ मेरो आराधना गर्नुभए म उहाँकै कोखबाट अवतार लिन्छु।”
त्यसपछि अदितीले आराधना गर्नुभयो र भगवान् विष्णु अदिती र कश्यप ऋषिका पुत्रको रूपमा वामन अवतारमा अवतरित हुनुभयो। वैदिक संस्कारहरू हुँदै आठ वर्षको उमेरमा ब्रह्मचर्याश्रम ग्रहण गर्नुभएका वामन भगवान् कमण्डलु, मृगछाला, पिताम्बर धारण गरी वेदपाठ गर्ने बाटो हुँदै बलिराजाको यज्ञस्थलमा पुग्नुभयो।
राजा बलिले सोधे–“बाबु, तिमी को हौ? के कामले यहाँ आएका छौ?”
वामन भगवान् उत्तर दिनुभयो–“म ब्राह्मणको छोरा हुँ। तिम्रो यज्ञमा सहभागी हुन आएको हुँ।”
यज्ञ सकिएपछि बलिले दान दिन थाले। कसैलाई हत्ती, कसैलाई घोडा, कसैलाई सुन-चाँदी दिन्थे। अन्त्यमा वामन भगवान्को पालो आयो।
बलिले भने–“बाबु, तिमीलाई के चाहिन्छ? माग, म अवश्य दिनेछु। हाम्रो दरबारबाट कोही पनि खाली हात फर्कंदैन।”
वामन भगवान्ले उत्तर दिनुभयो–“म सानो ब्राह्मण छोरा, गरिब जाती हुँ। मलाई थोरै जमिन भए पुग्छ। बस्न र वेदपाठ गर्न मिल्ने गरी तीन पाऊ जमिन दिनुस।”
बलिले सहजै मान्न खोज्दा उनका गुरु शुक्राचार्यले ध्यानदृष्टिले हेरेर भने–“महाराज, यो साधारण ब्राह्मण होइन, यो त भगवान् विष्णु स्वयं हुन्। उहाँले तपाईंलाई छल गरेर सबै खोस्ने योजना गर्नुभएको छ। संकल्प नगर्नुहोस्।”
तर बलि धार्मिक स्वभावका भएकाले भने–“मान्छेले वचन दिएपछि झूट गर्नु हुँदैन।”
शुक्राचार्यले संकल्प रोक्न कलशको टोंटीमा बसी जल रोकिदिए। बलिले कुशको टुप्पोले टोंटी घोच्दा शुक्राचार्यको एक आँखामा चोट लाग्यो। त्यसपछि संकल्प सम्पन्न भयो।
वामन भगवान्ले तिनै पाऊमा सम्पूर्ण लोक नाप्नुभयो। एक पाऊमा आकाश, अर्को पाऊमा पृथ्वी ढाक्दा तेस्रो पाऊ राख्ने ठाउँ बाँकी रहेन।
भगवान्ले सोध्नुभयो–“अझ तेस्रो पाऊ राख्ने ठाउँ दिनुपर्छ, महाराज। कहाँ राखूँ?”
त्यस बेला बलिकि धर्मपत्नी विनीताले भनिन्–
“राजा, तपाईँले दिएको वचन पूरा गर्नुपर्छ। प्रभुको तेस्रो पाऊ आफ्नै टाउकोमा राखिदिनुहोस्।”
राजा बलिले सहर्ष स्वीकृति जनाए। जब वामन भगवान्ले बलिको टाउकोमा पाऊ राख्नुभयो, बलि पातालमा दबिए।
तर आफ्नो भक्तिपूर्ण स्वभाव र वचनपालनका कारण बलि राजालाई भगवान्ले आशीर्वाद दिनुभयो–
“तिमीले सत्य र धर्म पालन गर्‍यौ। म तिमीलाई पातालको राजा बनाउँछु। प्रत्येक वर्ष तिमीलाई दर्शन दिन आउनेछु।”
त्यसैबेलादेखि भाद्र शुक्ल द्वादशीका दिन वामन जयन्ती मनाइन्छ। यो कथाले सत्य, धर्मपालन र वचनको महत्त्वलाई उजागर गर्दछ ।