‘छोरी अर्काको नासो होइन, देशको भरोसा’ : दीपका प्रतिभाकाे स्वरमा सुस्केरा

1.3K

‘छोरी अर्काको नासो होइन, देशको भरोसा’ : दीपका प्रतिभाकाे स्वरमा सुस्केरा

“बाबा, तपाईंले पठाउनुभएको पैसाले घरको जग त बलियो भयो होला, छानो पनि फेरियो होला । तर त्यो छानोमुनि तपाईं नहुँदा मलाई यो महल पनि एउटा चिसो गुफा जस्तो लाग्छ ।”
कक्षा ७ की छात्रा दित्या सिंह ठकुरीले ‘परदेशी बाबालाई छोरीको चिठी’ वाचन गर्दै स्टेजबाट यी शब्द उच्चारण गर्दा हलमा उपस्थित सयौँ अभिभावकका आँखा रसाए । वैदेशिक रोजगारीका कारण नेपाली समाजमा बढ्दो पारिवारिक दूरी र छोरीको अन्तरमनको पीडालाई उनले मार्मिक ढंगले प्रस्तुत गरिन् । केहीबेर पूरा हल नै निशब्द बन्यो ।
यो दृश्य थियो बुटवलस्थित दिप बोर्डिङ हाई स्कुलमा आयोजित ‘विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८२’ को । कार्यक्रममा अर्की छात्रा वानी सिंहले आमाको त्याग र निस्वार्थ ममताबारे बोल्दै गर्दा मञ्चमै भक्कानिइन् । भावनाले गला अवरुद्ध भएपछि उनका आँसु झरे, जसले उपस्थित धेरै आमाहरूलाई समेत भावुक बनायो ।
भावनात्मक प्रस्तुतिपछि वैचारिक सन्देशले मञ्च ततायो । छात्रा आयुषा खाम्चाले छोरी शिक्षाको महत्त्वमाथि धारदार अभिव्यक्ति दिँदै परम्परागत सोचप्रति प्रश्न उठाइन् । उनले भनिन्, “ती सपनाहरूलाई ‘अर्काको नासो’ सम्झेर घरभित्र कैद नगर्नुहोस्, छोरी त यो देशको भरोसा र भविष्यको बलियो आधार हो ।” आयुषाको सशक्त अभिव्यक्तिले हल तालीको गडगडाहटले गुञ्जायमान भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुवात स्वतिवाचन तथा संस्कृति अधिकारीको स्वागत मन्तव्यबाट भएको थियो । हिसान कपिलवस्तुका अध्यक्ष वासुदेव घिमिरे र प्याब्सन तिलोत्तमाका अध्यक्ष दीपक गौतमले विद्यार्थीहरूको बहुआयामिक प्रतिभाको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका संयोजक तथा कक्षा ७ र ८ का शिक्षक कृष्ण भुसालले कक्षा ७ का चारवटै सेक्सनका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम उत्सवमय बनेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले ७७ वटै जिल्लाको नाम र ३१ मौलिक हकहरू धारासहित कण्ठस्थ सुनाएर उल्लेखनीय स्मरणशक्ति प्रदर्शन गरेका थिए ।
सांस्कृतिक प्रस्तुतिमा ‘लिखा वया’ नेवारी नृत्य, ‘रोधी घरको आँगन’, ‘देउरालीमा बरपिपल’ र ‘शिरैमा शिरफूल’ जस्ता नृत्यहरूले नेपालको सांस्कृतिक विविधता झल्काए । साङ्गीतिक खण्डमा भजन टोलीको प्रस्तुति अर्थपूर्ण रह्यो । आध्यात्मिक शान्तिको अनुभूति गराउँदै भजनको धुनले हललाई केहीबेर मन्दिरजस्तै पवित्र र शान्त बनाएको अनुभूति गरायो ।
‘भर्वल व्याटल’ शीर्षकको प्रविधि बहसमा विद्यार्थीहरूले तार्किक क्षमता र वक्तृत्वकला प्रदर्शन गरे । समापन मन्तव्य दिँदै प्रिन्सिपल टीकाराम न्यौपानेले भन्नुभयो, “हाम्रो लक्ष्य केवल शिक्षित नागरिक उत्पादन गर्नु होइन, समाजको मुहार बदल्न सक्ने आत्मविश्वासी र संवेदनशील नेतृत्व तयार गर्नु हो । आज मञ्चमा देखिएको साहस नै भोलिको राष्ट्र निर्माणको जग हो ।”
प्रियङ्का, जेनिशा र संस्कृतिको उद्घोषणमा सम्पन्न कार्यक्रम केवल विद्यालयस्तरीय प्रस्तुति मात्र नभई नयाँ पुस्ताको आत्मविश्वास, संवेदना र सपनाको सशक्त दस्ताबेजका रूपमा उभिएको छ ।