लुम्बिनी अञ्चलमै पहिलो पटक टर्की पालन व्यवसाय सुरु

2.1K

लुम्बिनी अञ्चलमै पहिलो पटक टर्की पालन व्यवसाय सुरु

पाल्पा,असोज । युवाहरुको लहर विदेशतिर बढिरहेका बेला रुप्से पाल्पाका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् ।
सुरुमा नयाँ कार्यको थालनी गर्दा टोल छिमेक सबैको हास्य पात्र बन्न पुगेका तारा प्रसाद पाण्डे यतिखेर गाउ घरमा मात्र नभई लुम्बिनी अञ्चलमै प्रशंसाका पात्र बनेका छन् । गाउँमै बसेर सिर्जनशिल काम गर्ने सोच राखेका पाण्डेले टर्की पालन गरी सबैका लागि आकर्षणको केन्द्रविन्दु बनेका छन् ।
उहाँले इन्टरनेटको साहारा लिएर टर्की पालन सम्बन्धी ६ महिनासम्म अध्ययन गरी व्यवसाय सुरु गरेका हुन् । सुरुमा पचास वटा चल्ला ल्याइ टर्की पालन व्यवसाय सुरु गरेका पाण्डेको फर्ममा दिनहुँ पचास भन्दा बढी टर्की फर्म हेर्न आउने गर्दछन् । झट्ट हेर्दा बोइलर कुखुरा जस्तो देखिने पंक्षीजन्य वस्तु टर्कीका लागि अहिलेसम्म रु पाँच लाख लगानी गरिसकेको उनले बताए ।
सुरुमा नयाँ काम थालनी गर्दा आश्चर्य मान्नेहरु अहिले उनको खुलेरै प्रशंसा गरीरहेका छन् । लुम्बिनी अञ्चलमै पहिलो पटक यो व्यवसाय जेठबाट आफुले मात्र सुरुवात गरेको उनले दाबि गरे ।
पाण्डेले भाले र पोथी दुबै जातको टर्की पालेका छन् । भाले एक बर्षमा १२ देखि १५ केजी सम्म र पोथी ८ देखि १० के जी सम्म तौल हुने टर्कीको मासु विशेष गरी विदेशी पर्यटकीय क्षेत्र र क्रिसमस दिवशका अवसरमा बढी विक्री हुने गर्दछ । स्वदेशी भन्दा विदेशी पर्यटकहरुले यसको मासु मन पराउने गर्दछन् । यसको मासु प्रति किलो रु पन्ध्र सयमा पोखरामा नै विक्री हुने गरेको उनले बताए ।
विदेशको कमाइ भन्दा स्वदेशमै बसेर व्यवसाय गरी दाम कमाउने सपना बोक्नुभएका पाण्डेले प्राविधिकको सहयोग विना आफ्नै स्वःअध्ययनले टर्की पालन व्यवसाय गरेको उनले बताए । एक वर्षमा पूर्ण रुपले तयार हुने पंक्षीजन्य टर्कीलाई कुखुरालाई जस्तै दाना,हरियो घाँसको आहारा खुवाउने गर्छन् ।
उच्च रक्तचाप, मधुमेह, कोलेष्ट्रोल, यूरिक एसिड जस्ता बिरामीहरुलाई टर्कीको मासु उत्तम मानिन्छ  । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा नहुने हुँदा विदेशीहरुको मात्र नभई स्वदेशीहरुबाट समेत यसको मासुको माग बढिरहेको छ । पोखरा अलवा चितवन, धरानमा समेत टर्की पालन व्यवसाय गरिएतापनि नेपालमा हालसम्म सात हजारको संख्यामा मात्र टर्की रहेको हुँदा बिक्रि गर्न बजारको समस्या नभएकोले व्यवसाय थालनी गरेको कृषक पाण्डे बताउँछन् ।
अण्डा उत्पादन गरी विक्री गरेपनि अण्डालाई ह्याचरीमा लगेर चल्ला उत्पादन गरी निकट भविष्यमा पन्ध्र सय वटा टर्की पालन गर्ने उहाँले बताउनुभयो । टर्की मयूर  जस्तै नाच्ने हुनाले पनि हेर्न आउनेहरुका लागि समेत मोहित बनाउने गरेको उनले बताए ।
टर्की पालनका लागि यस क्षेत्रको हावापानी भौगोलिक भु वनोट अत्यन्त उपयोगी र उत्तम भएकोले भविष्यमा यस व्यवसायलाई बढाई पाँच जना युवालाई रोजगारी दिने लक्ष्य लिएका छन् ।