आज हरितालिका तीज पर्व, पूजा आराधना गरी मनाउँदै

196

आज हरितालिका तीज पर्व, पूजा आराधना गरी मनाउँदै

ppppppppppp

काठमाडौं, १९ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आइतबार हिन्दू नारीले महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको मान्यता छ । सँस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ ।

सत्ययुगमा निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका हुन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको र सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने उहाँको भनाई छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उहाँले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताउनुभयो ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको पनि गौतमले बताउनुभयो । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ ।

एक महिनाअघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको सँस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको सँस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले बताउनुभयो । तीजको अवसरमा काठमाडौंको पशुपतिसहित देशभरका शिव मन्दिरमा महिलाको बिहानैदेखि घुइँचो लागेको छ ।

यसैबिच तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न दलका नेताले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति भण्डारीले तीजले सामाजिक एकता र लैंगिक समानताका लागि सकारात्मक सन्देश दियोस् भन्दै शुभकामना दिनुभएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिँदै देश–विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले पनि तीजको अवसरमा शुभकामना दिएका छन् ।

https://www.lumbinionline.com/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8/