पातीखोलाको मर्मत गर्न ६ महिना लाग्ने

432

पातीखोलाको मर्मत गर्न ६ महिना लाग्ने

patikhola

पर्वत, २६ भदौ । अविरल वर्षाका कारण खोलामा आएको बाढी विद्युत् उत्पादन गृहमा पसेपछि बन्द भएको पातीखोला जलविद्युत् आयोजना मर्मत गर्न छ महिना लाग्ने भएको छ ।

पर्वत जिल्लाको देउराली गाविस– ६ घुरुङगामा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत् आयोजना बाढीका कारण गत बिहीबारदेखि बन्द भएको हो । गत बुधबार राति खोलामा आएको बाढी विद्युत् गृहमा पसेपछि उत्पादन गृहमाजडित टर्वाइन तथा इन्टेक, पेनस्टक पाइप र उत्पादन गृहमा लगाइएको तारजालीमा समेत क्षति पु¥याएको छ ।

वर्षायामको समयमा पूर्ण क्षमतामा उत्पादन भएको आयोजनाको मुहानबाट बाढीले क्षति पु¥याउँदा रु दुई करोड भन्दा बढीको क्षति पुगेको आयोजना प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले उत्पादित विद्युत् मोदीखोला सव स्टेसनमा जडान गर्ने प्रशारण लाइनका ४० वटा विद्युत् पोल र वितरण लाइनका सातवटा पोल समेत ढालेको छ । पावरहाउसभित्र हिलो पसेर सबै मेसिन काम नलाग्ने अवस्थामा पुगेको स्टेसन प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

पातीखोला किनार हुँदै पावर हाउससम्मको झन्डै ५०० मिटर सडक समेत खोलाले बगाएका कारण नयाँ सडक निर्माण गरिसकेपछि मात्र उपकरण ल्याएर मर्मतको काम सुरु हुने र ठूलो क्षति पुगेकाले योजना सञ्चालनका लागि झन्डै ६ महिना भन्दा बढी समय लाग्ने स्टेसन प्रमुख श्रेष्ठको भनाइ छ ।

विद्युतपोल समेत ठूलो सङ्ख्यामा ढलेकाले मर्मत गर्न लामो समय लाग्ने भएपनि मर्मतका लागि प्राविधिक टोलीलाई बोलाइको र वर्षायाम सकिएपछि मात्रै मर्मतको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । रासस