बुटवल, २ असोज । नेपाली कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीले बुटवलमै उच्च अदालतको मुकाम राख्नुपर्ने धारणा राखेको छ ।
कांग्रेस क्षेत्रीय सभापति हरि लम्साल र सचिव जोगबहादुर केसीद्वारा जारी बिज्ञप्तीमा भदौ २९ गते नेपाल सरकार मन्त्री परिषद बैठकको निर्णय बमोजिम गठित उच्च अदालतहरुको मुकाम एवं कायम रहने इजलास सम्बन्धी निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको उच्च अदालतको मुकाम र इजलाश कायम गर्ने निर्णय मध्ये प्रदेश नम्बर ५ को उच्च अदालतको मुकाम तुलसीपुर (दाङ्ग) कायम गर्दै साविक पुनरावेदन अदालत बुटवललाई उच्च अदालत तुलसीपुर बुटवल इजलाशको रूपमा मात्र कायम गरिएको प्रति असन्तुष्टी जनाएको हो ।
साविक पुनरावेदन अदालत तुलसीपुर र पुनरावेदन अदालत नेपालगञ्ज दुवै अदालतको कुल मुद्दा संख्याभन्दा झण्डै दोब्बर मुद्दा संख्या रहेको साविक पुनरावेदन अदालत बुटवललाई प्रदेश नं. ५ को उच्च अदालतको मुकाम कायम नगरी ज्यादै न्यून मुद्दा संख्या रहेको तुलसीपुर (दाङ्ग) मा उच्च अदालतको मुकाम कायम गर्ने सरकारको निर्णयप्रति असहमती जनाएको छ ।
प्रदेश नं. ५ को उच्च अदालतको मुकाम तुलसीपुर (दाङ्ग) कायम गर्नेगरि गरेको सरकारको निर्णय अविलम्व सच्याउन बिज्ञप्तीमा भनिएको छ । बहुसंख्यक न्यायका सेवाग्राही रहेको स्थान साविकको पुनरावेदन अदालत बुटवलमा प्रदेश नं.५ को उच्च अदालतको मुकाम कायम गर्न र नगरिएमा सशक्त संघर्षका कार्यक्रमहरू गर्ने कांग्रेसले जनाएको छ ।