बुटवल । लुम्बिनी अञ्चल अस्पतालमा सर्पले टोकेकी एक महिलाको निधन भएपछि तनाव भएको छ । रुपन्देहीको सौ फर्साटिकर गाबिस – ३ की ३२ वर्षिया नारायणी खनालको मृत्यु भएको थियो । अस्पतालका चिकित्सकहरुले उपचार गर्दागर्दै उनको निधन भएपछि मृत घोषणा गरेका थिए ।
तर मृतकका आफन्तले जीवित रहेको बिरामीलाई मृत घोषणा गरिएको भन्दै अपत्ती जनाएका छन् । राति ११ बजेसम्म सकुसल रहेकी खनाल बेहाेस भएपछि चिकित्सकले ध्यान नदिएको अाफन्त यज्ञमूर्ति न्यौपानेले बताए ।
मृत घोषणा गरिएकी खनाल बिहानसम्म चलेको भन्दै अस्पतालले लार्पबाही गरेको उनीहरुको आरोप छ । मृतकका आफन्तले बिहानै देखि अस्पताल परिसरमा नारावाजी गरेका छन् । उनीहरुले बिरामीको उपचारमा संलग्न चिकित्सकले लार्पबाही गरेको भन्दै कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।
अस्पताल प्रशासनले भने सर्पले टोकेको बिरामीले मृत भएपछि पनि शरीर चलाउनु स्वभाविक भएको बताएको छ । मुख्य अंगको मृत्यु भइसकेको भए पनि हात, खुट्टाहरु चल्नु सामान्य भएको जनाएको छ । अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बिरामीका आफन्तहरुसंग छलफल भइरहेको जानकारी दिए ।
सर्पले डसेकी खनाललाई थप उपचारका लागि भरतपुर लगिएको अाफन्तले बताएका छन् ।