
बुटवल, असोज । उद्योगमन्त्री नविन्द्रराज जोशीले राजनीतिक दलहरु राजनीतिमा मात्रै केन्द्रित नभई आर्थिक समृद्धिका लागि केन्द्रित हुनुपर्ने बताएका छन् । संविधानको कार्यान्वयनसंगै देशलाई सामथ्र्यावान वनाउन उद्योगको विकास अपरिहार्य भएको उनले बताए ।
रुपन्देही उद्योग संघको ३८ औं साधारणसभालाई सोमबार बुटवलमा उद्घाटन गर्दै उनले औद्योगिक ऐन ल्याउन दलहरु एकमत भएजस्तै कार्यान्वयन गरी समृद्धि नेपाल बनाउनको लागि पनि एकजुट हुनुपर्ने बताए । हालै आएको ऐनले निजी क्षेलाई विशेष सहुलियत दिएको र लगानीलाई आर्कषण गरेको उनले बताए ।
घरेलु तथा साना उद्योग, महिला लगानीलाई विशेष प्राथमिकतामा राखिएको भन्दै ग्रामिण क्षेत्रहरुमा पनि उद्योग चलाउने अवसर रहेको जिकिर गरे । यसले हरेक गाउमा उद्योग स्थापना हुने उनको विश्वास छ । बुटवल, नेपालगञ्ज, बिरगञ्ज जस्ता केही शहरमा ठूला उद्योगहरु खुल्ने सम्भावना देखिएकाले त्यसलाई साकार रुप दिन उद्योग मन्त्रालयले योजना बनाएको बताए ।
हाल बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योगहरुको बर्गिकरण गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । औषधि उद्योग शुभारम्भको अवस्थामा रहेको भन्दै बुटवल धागो कारखाना, छाला, सुगर, जुट मिलहरु थ्रीपीपीको आधारमा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राजनीतिक दलहरुले राजनीतिलाई मात्रै प्राथमिकता दिनु नहुनेभन्दै आर्थिक विकासमा लाग्नुपर्ने बताए । नेपालमा लगानीका सम्भावना बढी रहेको भन्दै त्यसको उपयोग गर्न नसकिएको बताए ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले रुपन्देही आर्थिक केन्द्रको रुपमा विकास हुदै गएको बताए । औद्योगिक व्यवसायी विकास प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण भट्टराईले सम्भावित उद्यमीलाईहरुलाई तालिम र प्रर्बद्धनात्मक कार्य गर्ने गरी प्रतिष्ठानको शुभारम्भ दशैभरी हुन लागेकाले यस कार्यको थालनीले पनि औद्योगिक विकासमा टेवा पुराउने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले उद्योगीहरु लगानी गर्न तत्पर रहेको भन्दै अझै पनि वातवारण सिर्जना हुन नसकेको बताए । कार्यक्रममा महासचिव माधवप्रसाद पौडेलले र कोषाध्यक्ष दिलिप सापकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको स्वागत, उपाध्यक्ष महेश थैवको धन्यवाद ज्ञापन तथा सचिव कृष्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो