
मणिग्राम, ६ कात्तिक । रूपन्देहीको मणिग्रामस्थित फोरस्टार बहुमुखी सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
सो अवसरमा डिभिजन सहकारी कार्यालय रूपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले फोरस्टार बहुमुखी सहकारी संस्था जिल्लाकै राम्रो सम्भावनायुक्त सहकारी भएको उल्लेख गर्नुभयो ।सहकारीका अध्यक्ष राजकुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमममा संस्थाका वरिष्ठ सल्लाहकार रोमणीप्रसाद पाठक र संस्थापक अध्यक्ष चुरामणि भट्टराईले २० हजार शेयर सदस्य पु¥याई सबैको कल्याणमा काम गर्ने संस्थाको लक्ष्य रहेको बताउनुभयो ।
साधारण सभाका अवसरमा राममणि बहुमुखी क्याम्पसलाई छ हजार रुपियाँ, शान्ति नमूना मा.वि.लाई चारहजार रुपियाँ र गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा.वि. लाई तीनहजार रुपियाँ छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो । सोही अवसरमा संस्थाका जेष्ठ सदस्य नेत्रप्रसाद गौतमलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी शेयर सदस्यका सन्तानमध्ये एस.एल.सी.मा उत्कृष्ट भएका सामुदायिक विद्यालयतर्फ दुर्गा न्यौपानेकी छोरी सोनु न्यौपाने, शरद भट्टराईका छोरा सुवत्स भट्टराई, नीजि विद्यालयतर्फ भगवती बस्यालकी छोरी सुजाता बस्याल र भगवती रेग्मीका छोरा आशीष रेग्मीलाई सम्मानित गरिएको थियो ।
सहकारीका लेखा समिति सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा शेयर सदस्यहरु दुर्गा न्यौपाने, शशीधर भण्डारी, उपाध्यक्ष रामलाल तिवारी, छिमेकी सहकारीका अध्यक्ष बाबुराम भण्डारी, प्रेमनारायण खरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा कर्मचारी नियमावली पारित गरेको सहकारीका सदस्य करुणराज गौतमले जानकारी दिनुभयो ।