१४० स्टलमा १५० ब्राण्ड, अवलोकनकर्तालाई निःशुल्क सिम

1.3K

१४० स्टलमा १५० ब्राण्ड, अवलोकनकर्तालाई निःशुल्क सिम

बुटवल, १२ फागुन । बुटवलमा डिजीकम क्यान इन्फोटेक सुरु भएको छ । क्यान महासंघ नेपाल, रूपन्देहीको आयोजनामा बुटवल मण्डपमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै पौडेलले प्रविधि र विकास पूरक रहेको बताउँदै प्रविधिको उचित प्रयोग गर्दै विकासलाई अघि बढाउनु पर्नेमा जोड दिन आवश्यक रहेको बताए । ‘ नेपालमा पुल उद्योग, सडक  लगायतका भौतिक पूर्वाधार निर्माणको आवश्यकता खड्किएको छ यस्ता पूर्वाधार निर्माणमा प्रविधिको प्रयोगको खाँचो रहेको हुँदा मुलुकमा उच्चतम प्रविधि भित्राउन आवश्यक छ । ’ उनले भने ।

पौडेलले रुपन्देहीमा हरेक क्षेत्रमा राजधानीसँग प्रतिष्पर्धा गर्ने मात्र नभई मुलुक कै उत्कृष्ट नमुना जिल्ला बन्न सक्ने स्रोत, साधन र सम्भावना रहेको बताउँदै सबैको सहकार्यको आवश्यकता आंैल्याए । पुर्वमन्त्री पौडेलले क्यान महासंघ रुपन्देहीले आयोजना गरेको इन्फोटेकले सरकारले ल्याएको स्मार्ट सिटिको अवधारणालाई प्रोत्साहन गरेको बताउँदै सफलताको कामना गरेका थिए ।

आजदेखि सुरु भएको इन्फोटेकमा  १ सय ४०  स्टलमा एक सय ५० अन्तराष्ट्रिय ब्राण्ड उपलब्ध रहेको छ । १८ वटा स्टलमा नेपालीले आविस्कार गरेका नयां प्रविधी राखिएको छ । इन्फोटेकको अवलोकनकर्तालाई नेपाल टेलिकमको निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएका छन् । इन्फोटेक फागुन १६ गते सम्म संचालन हुनेछ । प्रविधिको प्रदर्शन र ज्ञान दिने उद्देश्यले अयोजना गरिएको इन्फोटेका शैक्षिक प्रदर्शनीका रुपमा रहेको क्यान रुपन्देही अध्यक्ष रोशन  कंडेलले  बताए ।

इन्फोटेकमा रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष गणेश अधिकारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, क्यान  महासंघका संस्थापक अध्यक्ष विमल कुमार शर्मा, पूर्व अध्यक्ष सुरेश कर्ण, वर्तमान अध्यक्ष विनोद ढकाल, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि आचार्य, नेकपा एमालेका पुरुषोत्तम घिमिरे, माओवादी केन्द्रका रामप्रसाद बञ्जाडे लगायतले बोल्दै प्रदर्शनीको सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन सत्रमा क्यान महासंघ रुपन्देहीका संस्थापक तथा केन्द्रिय सदस्य नवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जु पौडेलले गरेकी थिइन् । त्यसैगरी उद्घाटन अघी मोटरसाइकल ¥याली भएको प्रचार प्रसार तथा अतिथि सत्कार संयोजक बिरु क्षेत्रीले जानकारी दिए । ¥याली बुटवल, योगीकुटी हुँदै बुटवल बजार परिक्रमा गरी पुनः बुटवल मण्डपमा फर्केको उनले बताए ।