यस कारण बुटवलमा गठबन्धनको पल्लाभारी

1.3K

यस कारण बुटवलमा गठबन्धनको पल्लाभारी

रामराज पोख्रेल/

पहिलो चरणको स्थानीय निकायको निर्वाचन सकिएको करिव डेढ महिना पछि हुने दोस्रो चरणको निर्वाचनले अहिले तराई र केही पहाडी जिल्लाका मतदातालाई तताएको छ ।

तराईमा जति गर्मीले तताएको छ, त्यस्तै चुनावी कृयाकलापबाट पनि जनतालाई तताएको छ । तराई अर्थात चुरे पहाडको काखमा अवस्थित बुटवल पनि गर्मिसंगै निर्वाचनको माहौलले तातेको छ ।
२०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पूर्व प्रधानमन्त्री एवम् तत्कालिन माओवादीका नेता डा. बाबुराम भट्टराईको आगमनले जसरी बुटवललाई गर्माएको थियो, त्यसरी नै अहिले पनि स्थानीय तहको निर्वाचनले बुटवललाई गर्माएको छ । नेकपा एमाले बुटवल आफ्नो पैतृक सम्पत्ति भएजस्तो गरी बुटवलमा करिव दुई दशकदेखि अन्य दलको अस्थित्वलाई अस्विकार गर्दै आएको छ ।

फलस्वरुपः अहिलेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा गठबन्धन गरी एमालेको अहमतालाई भत्काउने अभियानमा लागेका छन् भने एमालेले पनि २०६४ र ०७० को संविधान सभामा नेता विष्णु पौडेलले विजय प्राप्त गरेको र २०५४ को स्थानीय निर्वाचनमा बुटवलमा जितेका कारण अहिले पनि त्यसलाई कायम राख्न भएभरको शक्ति बुटवलमै केन्द्रित गरेको छ । जसले गर्दा २०७० को निर्वाचन जस्तै अहिले पनि बुटवल चर्चाकै शिखरमा छ । २०६४ मा थोरै मतले विजय बनेपछि २०७० को निर्वाचनमा माओवादीका नेता भट्टराईको आगमनले अत्तालिएर काँग्रेस र माओवादी बाहेकका दलका मतहरु भित्रि रुपमा एमालेले भित्र्याएर जितेको जगजाहेर नै छ ।

जसलाई बुटवल उपमहानगरपालिकाको निर्वाचनमा पनि कायम राख्न रणनीति बनाईरहेता पनि असफल हुने निश्चित जस्तै छ । २०७० को दोस्रो संविधान सभामा रुपन्देही क्षेत्र नं. ४ बाट एमालेका विष्णु पौडेलले करिव १९ हजार, नेपाली काँग्रेसका सुर्यप्रसाद प्रधानले साढे १४ हजार, माओवादीका भट्टराईले ११ हजार मत प्राप्त गरेका थिए ।
क्षेत्र नं. ४ को अधिकांश क्षेत्र बुटवल उपमहानगरपालिका मै पर्दछ । क्षेत्र एउटै भएतापनि नगरपालिका अलग भएको साविक पर्रोहा गाबिस अहिले सैनामैना नगरपालिकामा पर्छ । जसमा एमालेको पक्षमा बलियो मत भएको क्षेत्र हो । जुन बुटवल उपमहानगरपालिकामा पर्दैन भने क्षेत्र नं. ३ को साविक सेमलार गाबिस बुटवलमा गाभिएको छ ।

जसमा काँग्रेसको पक्षमा बलियो मत छ । २०७० को निर्वाचनमा एमालेका पौडेलले प्राप्त गरेको मत र काँग्रेसका प्रधानले प्राप्त गरेको मतको अन्तर हेर्दा तत्कालिन अवस्थामा निर्वाचन बहिस्कार गरेको माओवादी वैद्य समुह, राप्रपा नेपाल, जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, अखण्ड नेपाल लगायतका साना दलहरुले भित्रि रुपमा एमालेलाई सहयोग गरेका थिए । त्यस्तै नेपाली काँग्रेसको पनि ठूलै संख्यामा मत माओवादीका भट्टराईलाई परेको थियो । जसलाई धेरैतिरबाट अनौपचारिक रुपमा पुष्टि भईसकेको छ ।
तसर्थ, बुटवलमा काँग्रेस र एमालेको मत हाराहारीमा बराबरी हो ।

काँग्रेसको मत सुसुप्त रुपमा र एमालेको मत जति छन्, सडकमा मासको रुपमा देखिने भएकाले पनि एउटै संख्या हो भन्दा फरक पर्दैन । दुई पटकसम्म एमालेले बुटवल क्षेत्रमा सांसद र २०५४ सालमा नगरपालिकामा नेतृत्व गरेर जनतालाई रिझाउने भन्दा सर्वसाधारणलाई चिढाउने काम बढी गरेको छ । नगरपालिकामा सबैको अपनत्व हुन नसकेको भन्दै स्वतन्त्र खाले मत अहिल काँग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका खेलराज पाण्डेको पक्षमा बलियो गरी देखिएका छन् भने गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादी केन्द्रका जगत पोखरेलको पक्षमा पनि त्यतिकै माहौल छ । मेयरमा काँग्रेसले उठाएका पाण्डेलाई १९ वटा वडामा प्रत्येक घरले नचिन्ने सायदै छैनन् भने उपमेयरका उम्मेदवार पोखरेल पनि सामाजिक क्षेत्रमा राष्ट्रिय छवी बनाएका व्यक्ति हुन् ।
साविक बुटवल नगरपालिकालाई मोतिपुर र सेमलार गाबिस मिसाएर बनाएको यो उपमहानगरपालिकामा कुल मतदाता ६६ हजार ६ सय ६३ जना छन् । जसमा करिव २० प्रतिशत मतदाता लालपुर्जा नभएका जग्गामा अव्यबस्थित रुपमा बसोबास गरेका छन् ।

तीनिहरुलाई व्यवबस्थित गर्ने नारा लगाएर नै विगतका निर्वाचनहरुमा एमालेले मत बटुली विजय प्राप्त गरेपनि उनीहरुका लागि खासै केही नगरेका कारण यस पटक स्थानीय रुपमा राम्ररी बुझेका व्यक्ति पाण्डेको पक्षमा मत पर्ने अनुमान धेरैले गरेका छन् । ती मतदाता पनि परिवर्तनको खोजीमा छन् । बिद्यार्थी कालदेखि राजनीतिमा लागेका ४८ वर्षिय पाण्डेलाई काँग्रेस भित्र मात्रै होईन अन्य दलका कार्यकर्ताले पनि त्यागी र बुटवलको मर्म बुझेको सामान्य व्यक्तिका रुपमा चिन्दछन् । पार्टीको दुई कार्यकाल बुटवल नगरको नेतृत्व गरेको, नगर बिकास समिति र नेपाली काँग्रेसको तर्फबाट सात वर्षसम्म नगरपालिकाको सर्वदलीय समितिमा रहेर काम गरेकाले पनि अन्य उम्मेदवारको तुलनामा प्रत्येक टोलटोल र घरघरमा पाण्डे पुगेका छन् ।

नगरबासीले पनि बुटवलको पूर्ण जानकारी प्राप्त व्यक्तिका रुपमा पाण्डेलाई लिने गरेका छन् । एमालेले आफ्नो वर्चश्व कायम राख्न काँग्रेस माओवादी केन्द्रको गठबन्धनलाई असर पार्न सकिन्छ की भनेर बिभिन्न प्रोपोगाण्डाहरु गरिरहेको देखिन्छ । तर गठबन्धन कसैले चाहेर पनि भत्काउन नसक्ने द्वन्द्व पिडित एवं काँग्रेस नेतृ रीता सेन ओलीको दावी छ । ‘म पनि माओवादी पिडित हुँ, तर हामी माओवादीलाई भोट दिन्छौं र माओवादी पनि काँग्रेसलाई भोट दिन प्रतिवद्ध छन् । हाम्रो गठबन्धनबाट उठाईएका मेयर उपमेयरका साझा छवी भएका व्यक्ति भएकाले जित निश्चित छ ।’ ओलीको भनाई छ ।

काँग्रेसले मेयरमा उठाएका पाण्डेको पक्षमा देखिएको जनलहर देखेर गठबन्धन गरिएको बताउँदै माओवादी नेता माधव शर्मा भन्छन्–‘माहौलले गठबन्धनको जित निश्चित भएको छ ।’ शर्माका अनुसार मेयरका उम्मेदवार पाण्डे र उपमेयरका उम्मेदवार पोखरेलको माहौलले विपक्षीलाई तनावको स्थितीमा पु¥याएको छ ।
बुटवलका घरघर टोलटोललाई राम्रोसंग बुझेका मेयरका उम्मेदवार पाण्डे राजनीतिमा केन्द्रीय तहसम्म पनि राम्रो पहुँच राख्ने व्यक्ति हुन् । बुटवल काँग्रेसका निर्विवाद र जनमानसमा लोकप्रिय छवी बनाएका पाण्डेले बुटवलमा अव्यबस्थित तथा सुकुम्बासीका रुपमा बसोबास गरेका लालपुर्जा विहिनलाई ६ महिना भित्र व्यबस्थित गर्ने, मुलुकको प्रमुख औद्योगिक केन्द्र बनाउने र शिक्षा, स्वास्थ्य, खेलकुदलाई हवको रुपमा बिकास गरि आधुनिक शहरको योजना अंगाडी सारेका छन् ।

मेयरका उम्मेदवार पाण्डे भन्छन्–‘नामका लागि उठेको नभई कामका लागि उठेको र बुटवललाई राम्रोसंग बुझेको व्यक्ति भएकाले सर्वसाधारण नगरवासी आफूप्रति आकर्षित रहेको पाएको छु ।’ बुटवलको मुहार फेर्ने अभियानका साथ अंघि बढेको काँग्रेस माओवादी केन्द्र गठबन्धनको पक्षमा देखिएको नगरबासीको जनलहरलाई भड्काउने प्रयास भएपनि विफल भएका छन्, बरु साना दलका नेता कार्यकर्ताको मत समेत गठबन्धनको पक्षमा आउने आश्वासन पाएको गठबन्धनको मुल प्रचार प्रसार समितिका संयोजक तथा काँग्रेस क्षेत्रीय सभापति हरि लम्सालको भनाई छ ।