एमाले अधिनायकवादको बाटोमा: पौडेल, गठबन्धन पाँच वर्षसम्म: बलदेव

1.3K

एमाले अधिनायकवादको बाटोमा: पौडेल,  गठबन्धन पाँच वर्षसम्म: बलदेव

बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता   रामचन्द्र पौडेलले नेकपा एमालेलाई सर्वसत्तावाद र अधिनायकवादको बाटो छोड्न आग्रह गर्नुभएको छ । ‘सत्ता सबैको हुनुपर्छ, एउटा पार्टीको बनाउन हुँदैन ।’ वरिष्ठ नेता पौडेलले भन्नुभयो–‘म ओलीजीलाई आग्रह गर्न चाहन्छु, अधिनायकवादको बाटो छाड्नुहोस ।’
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी प्रचार प्रसारको अन्तिम दिन आईतबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सर्वसत्तावाद र अधिनायकवादले मुलुकको बिकास र समृद्धिलाई रोक्ने दावी गर्नुभयो ।
मुलुकको बिकास र समृद्धि चाहने हो भने एमाले लोकतन्त्रप्रति गम्भिर हुन उहाँले आग्रह गर्नुभयो । मुलुकको बिकास र समृद्धिका लागि आम जनतालाई सम्बोधन गर्दै एमालेको ललिपपमा नफस्न आग्रह गर्नुभयो । हिमाल पहाड र तराईलाई एउटै सुत्रमा बाँध्नकालागि नेपाली काँग्रेसले प्रयास गरिरहेको बताउँदै वरिष्ठ नेता पौडेलले १२ बुँदे संझौतासंगै काँग्रेस माओवादीको सहकार्य सुरु भएको र अनन्तसम्म रहने दावी गर्नुभयो ।
काँग्रेस माओवादी मिलेर शान्ति सम्झौता गरेको र मिलेरै अंगाडी बढेको स्मरण गर्दै उहाँले केन्द्र र स्थानीय तहमा पनि मिलेरै सरकार चलाउने तथा यहि सरकारले संघीय र केन्द्रीय निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । गठबन्धनलाई जिताउन आग्रह गर्दै उहाँले बुटवलको बिकासमा आफूले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी काँग्रेसका प्रभावशाली नेता पूर्व मन्त्री बालकृष्ण खाँणले प्रतिपक्षमा सबेको दलले १५ दिन भित्रै सुकुम्बासीलाई लालपुर्जा बाँड्छु भन्दै भोट माग्नु हास्यास्पद भएको बताउनु भयो ।

दुई दलबिचको गठबन्धनले नेता कार्यकर्तामा उर्जा थपेको र एमालेलाई काम ज्वरो आएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको मुल स्प्रिडलाई बुझ्न र खोक्रो राष्ट्रवादको नारा चर्काएर जनतालाई दिगभ्रमित नपार्न आग्रह गर्नुभयो । पाँच नं. प्रदेश जनभावना विपरित कुनैपनि नगरिने स्प्रष्ट पार्दै प्रदेशको राजधानी पनि बुटवलमै बनाईने दावी गर्नुभयो । एमालेले दाङ्लाई प्रदेशको राजधानी बनाउने निर्णय गरेर दाङ् गए दाङ् र बुटवल आए बुटवल राजधानी बनाउने भन्दै जनतालाई भ्रम छर्ने काम गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले जे बोल्छ त्यहि गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य चन्द्रप्रसाद खनाल वलदेवले लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास र संविधानको सफल कार्यान्वयनकालागि आगामी पाँच वर्षसम्म नेपाली काँग्रेस र माओवादीको गठबन्धन जारी रहने जानकारी गराउनु भयो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार समेत रहनुभएका नेता खनालले एमाले सरकारमा रहँदा धेरै काम गरेको बताएपनि केही काम नगरेको र जनतालाई अनावश्यक भ्रम छरिरहेको आरोप लगाउनु भयो । उहाँले गठबन्धनका उम्मेदवारलाई ईमान्दारिताका साथ मतदान गरि विजयी गराउन नेता कार्यकर्तालाई निर्देशन समेत गर्नुभयो ।
संयुक्त गठबन्धनका चुनाव प्रचार प्रसार समन्वय समितिका संयोजक तथा काँग्रेस क्षेत्र नं. ४ का सभापति हरि लम्सालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, धनराज गुरुङ्, रुपन्देहीका सभापति अब्दुल रज्जाक, माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायण जिसी, अन्तर पार्टी महिला सञ्जाल रुपन्देहीकी अध्यक्ष लक्ष्मी कोईराला, बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डे, उपमेयर पदका उम्मेदवार जगतबहादुर पोखरेल, माओवादी केन्द्रका नगर संयोजक सुदिप न्यौपाने लगायतले भनाई राखेका थिए ।