निर्वाचन आयोगमा राजपा दर्ता

1.3K

निर्वाचन आयोगमा राजपा दर्ता

 काठमाडौं २३ असार। राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।शुक्रबार कान्तिपथस्थित आयोगमा पुगेर राजपाका शीर्ष नेताहरुले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टी एकता गरेका ६ दलका अध्यक्षले राजपा नेपाललाई आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने लगायतका सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् ।राजपाले केही दिन अघि नै दल दर्ताको तयारी गरेको थियो । तर, पार्टी विधानको प्रस्तावनामा नै गजेन्द्र नारायण सिंहको नाम राख्नु पर्ने अडान राख्दै तत्कालीन सद्भावना पार्टीका अनिल झाले हस्ताक्षर नगरेपछि रोकिएको थियो । संविधान संशोधनको अडान राख्दै आन्दोलन घोषणा गरेका राजपाका नेताहरुलाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले पहल जारी राखेका छन् । देउवाको पहलमा राजपासहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।राजपा नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए । बैठकमा आगामी चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।बैठकमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड छन् र राजपाका महन्थ ठाकुर लगायत शीर्ष नेता सहभागी छन् ।राजपा नेताहरुले आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । यसलाई आगामी चुनावमा भाग लिने संकेतको रुपमा लिइएको छ ।