शिवपुराण सहितको श्रावणी मेलाको तयारी तिब्र

1.3K

शिवपुराण सहितको श्रावणी मेलाको तयारी तिब्र


बुटवल, २३ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पहुनी स्थित मोक्षधाम सेवा आश्रमले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिलाई सम्मान गरेको छ ।
शुक्रबार धाममा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि उनीहरुलाई टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले उनीहरुलाई सम्मान गर्दै तिलोत्तमा नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य सहित सुरु गरिएको धामको बिकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नवनिर्वाचत मेयर बासुदेव घिमिरेले निर्वाचनका समयमा गरेको प्रतिवद्धता तिलोत्तमालाई पर्यटकीय केन्द्रका रुपमा बिकास गर्ने आफ्नो एजेण्डा नभुलेको र त्यसमा पनि तिलोत्तमामा धार्मिक पर्यटनको सम्भावना उच्च रहेकाले बिशेष महत्व दिईने बताउनु भयो ।

उहाँले धामसम्म पुग्ने सडक उपर्युक्त नभएको र सडक व्यवस्थित गर्नकालागि वडा तहबाट सिफारिस ल्याउन आग्रह गर्दै केही समयभित्रै भलवारीदेखि मोक्षधामसम्म पुग्ने पुरै दायाँबाँया नाली सहितको सडक पिच गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपमेयर जागेश्वरी चौधरी, नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेल, गीर्वाण संस्कृत बिद्यालयका प्रधानाध्यापक यज्ञपुरुष गैरे, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष सुकदेव न्यौपाने, वडा नं. १६ का अध्यक्ष झगलाल भुसाल, महिला सदस्य सुमन नेपाली, धामका उपाध्यक्ष टिकाराम पाण्डे, सदस्य वेदप्रसाद न्यौपाने लगायतले धामको बिकासमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

रुपन्देहीको मध्ये भागमा पर्ने तिलोत्तमा नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा बिकास गर्ने गरी २०६८ सालमा भारतका चार र नेपालका चार तिर्थस्थलहरु यसैस्थानमा निर्माण गर्ने गरि परिकल्पना अंगाडी सारिएको थियो ।

सोही अनुसार हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, गुरुकुल आश्रम, १०८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर निर्माण भईसकेको छ भने अमृत कुण्ड, १००८ शिवलिंग सहितको द्वादश ज्योतिर्लिङ्ग निर्माणाधिन अवस्थामा रहेको र असार भित्रै निर्माण पुरा गरिने आश्रमका सचिव कृष्ण पाण्डेले जानकारी गराउनु भयो ।

भारतमा रहेका प्रसिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको थियो ।

मोक्षधाम सेवा आश्रम समितिले यहि साउन महिनामा बृहत शिवपुराण महायज्ञ सहित स्रावणी मेला गर्ने तयारी गरेको छ । श्रावण प्रतिपदादेखि श्रावण शुक्ल पूर्णिमासम्म महाशिवपुराण ज्ञान महायज्ञ तथा श्रावणी मेला गर्न लागिएको हो । २०७४ सालको श्रावण प्रतिपदा असार २६ गते पर्दछ ।

मोक्षधाममा असारको २६ गतेदेखि साउन २३ गतेसम्म एक महिना धुमधामका साथ गर्न लागिएको कोषाध्यक्ष नारायण वञ्जाडेजे जानकारी गराउनु भयो । जसको तयारी तिब्र रुपमा अंगाडी बढाईएको छ । उक्त श्रावणी मेला सहितको शिवपुराण महायज्ञमा दश लाख धार्मिक पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ ।