बुटवल, १२ भदौ । नेपालको इतिहासमै पहिलो पटक व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरवार बाहिर रुपन्देहीमा बस्न लागेको छ ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने संघीय गणतन्त्र नेपालको संबिधान २०७२ को उद्देश्यलाई साकार पार्न पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बताउनु भयो ।
रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल–वेलहिया ६ लेन व्यापारिक मार्ग बिस्तार आयोजनाको स्थलगत अनुगमन गर्ने क्रममा सार्वजनिक लेखा समितिको बैठक पहिलो पटक रुपन्देहीमा बस्न लागेको हो ।
५१ जना सांसद सदस्य रहेको सार्वजनिक लेखा समितिका सदस्यहरुको यही भदौ १९, २० र २१ गते स्थलगत अध्ययन सहित बैठक बस्ने तयारी भएको हो । संसदीय लेखा समितिका सदस्यहरु १९ गते बिहान भैरहवा आउने र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना तथा बुटवल बेलहिया ६ लेन व्यापारीक मार्ग आयोजनाको स्थलगत अनुगमन गर्नेछन् ।
त्यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबाको पहिरोको निरिक्षण गर्नुका साथै लुम्बिनीदेखि तिलौराकोटको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको सभापति उपाध्यायले जानकारी दिनुभयो ।
तिन दिने अवधिमा आयोजनाको स्थलगत अनुगमन गर्नुकासाथै सार्वजनिक सुनुवाई गर्ने र लेखा समितिको बैठक बसि सरकारलाई आवस्यक निर्देशन दिईने उहाँले बताउनु भयो ।
रिपोर्टर्स क्लवले सोमबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति उपाध्यायले लेखा समितिले मुलुकभर सञ्चालित २१ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको स्थलगत निरिक्षण गरी सातवटै प्रदेशमा सरोकारवाला निकयबीच आयोजनास्थलमै सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको जानकारी दिनुभयो । ‘कमीकमजोरी छ भन्ने कुरा प्रारम्भिक अध्ययनले देखाईसक्यो ।’ सभापति उपाध्यायले भन्नुभयो–‘यसमा के के कुराहरुमा कमीकमजोरी छ, को को संलग्न छन् भन्ने कुराको थप अध्ययन हुन्छ ।’
तीन दिनसम्ममा संसदीय सार्वजनिक लेखा समितिले आयोजनाको अनुगमन, सुरुको लागत, अहिलेसम्मको लागत, काम ढिला हुनुका कारणहरु, कामको प्रगति, गुणस्तर लगायतका बिषयमा अध्ययन गर्नेछ ।
पहिलो दिन रुपन्देहीमा आएर स्थलगत अवलोकन, दोस्रो दिन सार्वजनिक सुनुवाई तथा संसदीय समितिको बैठक तथा तेस्रो दिन रुपन्देही घोषणा पत्र सार्वजनिक गरेर समिति काठमाण्डौ फर्किने छ भने काठमाण्डौ फर्किसकेपछि समितिले सुधारका लागि सरकारलाई निर्देशन दिने सभापति उपाध्यायले जानकारी गराउनु भयो ।
आर्थिक अनियमितताको बिषयमा सार्वजनिक लेखा समितिले गरेको छानबिनमा कुनै न कुनै किसिमले राजनीतिक नेतृत्वको संलग्नता देखिएको बताउदै उहाँले सुशासनको मुख्य बाधक राजनीतिक नेतृत्वनै भएको दाबी गर्नुभयो । नेपालमा नीतिगत रुपमै भ्रष्टाचार हुने गरेको बताउदै सभापति उपाध्यायले भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनौट, ठेकेदार छनौट हुदै बिकास निर्माणमा भ्रष्टाचार हुने गरेको जिकिर गर्नुभयो ।
व्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले रुपन्देहीमा सञ्चालित दुई वटा राष्ट्रिय गौरवको आयोजना ढिलाई भएकोमा अध्ययन गर्न यस अगाडी यहि भदौको ३, ४ र ५ गतेलाई मिति तय गरेको थियो । उक्त मितिलाई स्थगन गर्दै पुनः १३, १४ र १५ गतेलाई मिति तय गरेपनि पुनः उक्त मिति पनि स्थगन गरी तेस्रो पटक १९, २० र २१ गतेलाई मिति तय गरेको हो ।