
बुटवल २३ भदौ । भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुर गाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा सात नेपालीसहित आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिज रहेको भारतीय पत्रकार धर्मेन्द्र पाण्डेले बताएका छन् ।
पाण्डेका अनुसार चालक हाफिजको उपचारका क्रममा मृत्यु भएको हो।दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनाको सनाखत भएको छ । रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ का ३० वर्षीय जुखई थारु र सोही स्थानका २४ वर्षीय उमेश चौधरीको सनाखत भएको छ ।
विष्टका अनुसार अन्य ५ जनाको शव क्षतविक्षत भएकाले पहिचान गर्न गाह्रो रहेको जानकारी भारतीय प्रहरीले दिएका छन् । दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ।घटनास्थलमा नेपाल प्रहरीको टोली पनि पुगेको जिल्ला प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।