
बुटवल, ५ असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । पाँच दिनसम्म चल्ने सस्तो बजारको संघका पूर्व अध्यक्ष महेश राजभण्डारीले बिहीबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै उहाँले संघले व्यवसायिक हकहित तथा उपभोक्ताको सुबिधाका लागि मेला महोत्सव गरेर सबैको मन जितेको बताउनु भयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले उपभोक्ता हित संरक्षण ऐन पारित गरेर उपभोक्तालाई अधिकार सम्पन्न गराउनु पर्ने बताउनुभयो ।
दशैं सस्तो बजारमा दैैनिक उपभोग्य बस्तु नुन, तेल, चिनी, दाल तथा कपडा, जुत्ताचप्पल, इलेक्टोनिक्स सामान बजारमुल्य भन्दा ५ देखि ४० प्रतिशत सस्तोमा बिक्रिको व्यवस्था गरीएको छ । त्यस्तै नयाँ नोटको समेत व्यबस्था गरिएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य विमलराज भट्टराईले जानकारी गराउनु भयो ।
दशैं सस्तो बजारको उद्घाटन कार्यक्रममा वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख बेदप्रकाश उपाध्यायले व्यवसायी सभ्य भएर व्यापार गर्न र उपभोक्तालाई सचेत हुन आग्रह गर्नुभयो । त्यस्तै उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले संघले दशैंका समयमा दशैं सस्तो बजार सञ्चालन गरेर उपभोक्तालाई सहुलियत दिएकोमा प्रशंसा गर्दै सरकारले नै यस्तो बजार सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
संघका अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तथा पुर्वअध्यक्ष अर्जुनमान सैंजु, बारिष्ठ उपाध्यक्ष खेमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, सीप बिकास तालिम केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेल लगायतले धारणा राख्नुभएको थियो । बुटवल उद्योग बाणिज्य संघले २०५७ सालदेखि दशैंको समयमा सस्तो बजार सञ्चालन गर्दै आएको छ ।