
बुटवल, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व रक्षा मन्त्री बालकृष्ण खाँडले प्रदेश र संसदीय निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । स्थानिय तहको निर्वाचनमा भएका तिक्तता हटाउदै प्रदेश र संसदीय निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई आग्रह गर्दै उहाँले प्रदेश र संसदीय निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी युनियन संघ रुपन्देहीको आयोजनामा नजिकिँदै गरेका चाडपर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रममा निर्वाचनको समयमा ससाना तिक्तता भए भुलेर पार्टी भित्र एक ढिक्का हुन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाकले नेपाली कांग्रेसले आफै भित्र आफ्नै कुरा काटेर कमजोर बनाउने केही कार्यकर्ताकै कारण रुपन्देही जिल्लामा स्थानीय तहको निर्वाचनमा खुम्चिन परेको बताउनुभयो । उहाँले काँग्रेसले अब नयाँ ढंगबाट निर्वाचनको समयमा अगाडि बढने भएकाले त्यसमा कर्मचारीको समेत सहयोग जरुरी रहेको बताउनुभयो ।
युनियनका केन्द्रीय सदस्य विष्णुबहादुर रायमाझीले निर्वाचनको समयमा मात्र नभई कर्मचारीलाई जुनसुकै बेला पनि रचनात्मक सहयोग गर्न र कर्मचारीलाई समायोजन गर्दा नेपाली काँग्रेसले ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रामबहादुर कार्की, नेपाली काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डे, स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयी, डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन संघ रुपन्देहीका अध्यक्ष मोहनकुमार नेपालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती पन्थीको स्वागत गर्नुभएको थियो ।