बुटवल उवासंघको साधारण सभा तथा अधिवेशन सुरु

1.3K

बुटवल उवासंघको साधारण सभा तथा अधिवेशन सुरु

बुटवल, २५ असोज।  यस क्षेत्रको जेठो व्यबसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको ६४ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशन बुधबारदेखि बुटवलमा सुरु भएको छ । साधारण सभा तथा अधिवेशनका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्नुभयो ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्द महासंघका पूर्व अध्यक्ष ढकालले व्यबसायीको शान्ति सुरक्षामा चुनौती थपिएको उल्ल्ेख गर्दै गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आर्थिक बिकासलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकको दिगो आर्थिक बिकास सम्भव नभएको बताउँदै मुलुकको आर्थिक बिकासमा गम्भिर बन्न पनि राजनीतिक दल र सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यहाँको आर्थिक बिकासकालागि औद्यौगिक बिकास, पर्यटन, कृषि लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय वजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले नगरपालिकाले अंगाडी सारेका आर्थिक बिकासका परियोजनामा सहकार्य गर्न पनि व्यबसायिक संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले बुटवलको आर्थिक बिकास मात्रै नभएर सामाजिक तथा शैक्षिक र स्वास्थ्यका क्षेत्रमा उद्योग बाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष खिमबहादुर महाल, महासचिव हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले भनाई राखेका थिए ।

सोही अवसरमा संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मा र विष्णु घिमिरेलाई प्रदान गरिएको थियो । सो अवसरमा महासंघका पूर्व अध्यक्ष ढकालले उनीहरुलाई जनही १५ हजार सहित सम्मान पत्र प्रदान गर्नुभएको हो । त्यस्तै पत्रकारहरु हरिष ढकाल, बिश्वास ढकाल, अमृता अनमोल र भुवन कार्कीलाई पनि जनही ५ हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट उद्योगी, व्यबसायीलाई पनि सम्मान गरिएको छ । उद्योग तर्फ तेजेन्द्र खड्का, युवा उद्यमी तर्फ परमेश्वर क्षेत्री, बाणिज्य तर्फ गोपालबहादुर पोखरेल, महिला उद्यमी तर्फ भारती जोशी, कृषित तर्फ गंगाप्रसाद सापकोटा र पर्यटन तर्फ प्रविण पाठकलाई सम्मान गरिएको थियो ।