
बुटवल, ३० असोज । बुटवलको व्यापारिक क्षेत्र अमरपथमा अमरपथ टोल व्यबसायी समितिको आयोजनामा यहि कात्तिकको १ गतेदेखि तीन दिने ‘दशौं अमरपथ दीपावली महोत्सव २०७४’ हुँदैछ ।
सांस्कृतिक पर्व तिहार (दीपावली)को अवसरमा संस्कृतिको संरक्षणकालागि दीपावली महोत्सव गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिन लागिएको अमरपथ टोल व्यबसायी समितिले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । दीपावली महोत्सवमा संस्कृति संरक्षणकालागि देउसी भैलो तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम गरिने महोत्सवका संयोजक प्रकाश श्रेष्ठले जानकारी गराउनु भयो । कात्तिकको १ देखि तीन गतेसम्म गरिने दीपावली महोत्सवमा अमरपथमा झकिझकाउ गरी सजाईने छ भने सवारी साधन समेत प्रवेशमा रोक लगाईने छ ।
५५ वटा व्यबसाय सञ्चालन भएको उक्त क्षेत्रमा दशैंको घटस्थापनादेखि सामानको खरिदमा निशुल्क उपहार कुपन प्रदान गरिएको र दीपावली लगत्तै गोलाप्रथाद्वारा विजेता छानीने छ । जसमा प्रथम पुरस्कार एक जनालाई फ्रिज, द्वितीय पुरस्कार १० जनालाई राईस कुकर र तृतीय पुरस्कार १० जनालाई आईरन प्रदान गरिने सचिव गोकुल विश्वकर्माले बताउनु भयो ।
दीपावली अवधी भर प्रत्येक सामानको खरिदमा थप ५ देखि १५ प्रतिशत सम्म छुट प्रदान गरिने संयोजक प्रकाश श्रेष्ठले बताउनु भयो । नेपाल भारत खुला सिमानाका कारण चोरी पैठारी र भारत सरकारले भारतमा जिएसटी लगाएका कारण फूल रेटमा सामान खरिद गर्नुपर्दा व्यबसायीलाई समस्या बनाएको बताउँदै दीपावली महोत्सव नगर्ने मनस्थितीका बिच पनि संस्कृति संरक्षणकै लागि महोत्सव गर्न लागिएको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले खुला सिमाना र भारत सरकारले भारतमा जिएसटी लगाउँदा नेपाली व्यापारीलाई समस्या भएपनि संस्कृति संरक्षणकालागि दीपावली महोत्सव गर्नु सकारात्मक भएको बताउनु भयो । उहाँले व्यबसायीक समस्या समाधानकालागि उद्योग बाणिज्य संघको प्रयत्न जारी रहने पनि बताउनु भयो ।
तीन दिन सम्म चल्ने उक्त दीपावली महोत्सव व्यबसायी प्रवद्धनका लागि नभएको र त्यस अवधिमा अन्य दिनका तुलनामा कारोवार घट्ने बताउँदै खुला सिमानाका कारण चोरी पैठारी तथा भारतमा भएको जिएसटीका कारण व्यापारमा गिरावट आएको टोल व्यबसायी समितिका पूर्व अध्यक्ष पुरनकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।