चुनावपछि मुलुकमा आर्थिक समृद्धि : गौतम

1.3K

चुनावपछि मुलुकमा आर्थिक समृद्धि : गौतम

भैरहवा, १३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले चुनावपछि मुलुकको आर्थिक समृद्धि हुने बताउनु भएको छ । चुनाबपछि बाम गठबन्धनले स्पष्ट बहुमतसहितको सरकार बनाई देशको समृद्धि गर्ने उहाँले बताउनु भयो ।

सोमबार नेकपा एमाले रुपन्देहीले मर्चवारमा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले लामो समय देशमा राजनीतिक क्रान्ति भएकाले अब बाम गठबन्धनको सरकारले आर्थिक क्रान्ती गरी देशको मुहार फेर्ने बताउनु भयो ।
कुनै पनि देशको विकास हुन स्थिर सरकार आवश्यक रहेको बताउँदै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले अबको १० वर्षभित्र भारत बराबर र १५ वर्ष भित्र चिन बराबर प्रतिव्यक्ति आय पुग्ने दावी गर्नु भयो ।

प्रशस्त सम्भावना हुँदा हुँदै पनि मर्चवारको विकास हुन नसकेको जनाउँदै नेता गौतमले एमालेले जिते मर्चवारको कायापलट हुने उल्लेख गर्नुभयो । आफू भूमिगत जीवनमा लामो समय रुपन्देहीको मर्चवारमा बसेर पार्टी संगठन निर्माण गरेको स्मरण गर्दै उहाँले ४५ वर्ष अघिको मर्चवार अहिलेको मर्चवारमा खासै भिन्नता नआएको बताउनु भयो । उहाँले मर्चवारका जनताले साँच्चिकै समृद्धि चाहेको भए एमालेलाई जिताउनु पर्ने धारणा राख्नु भयो ।

सभालाई सम्वोधन गर्दै उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले सरकारका पालामा मर्चवारको विकासका लागि थुप्रै बजेट विनियोजन गरिएको बताउनु भयो । उहाँले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देहीका चार बाट क्षेत्रमा एमालेको जितलाई कसैले रोक्न नसक्ने समेत बताउनु भयो । एमालेले जित्न नसक्दा मर्चवारको विकास पछाडि परेको बताउँदै पूर्व अर्थमन्त्री समेत रहनु भएका उपमहासचिव पौडेलले एमालेले जिते विकासले फड्को मार्ने बताउनु भयो ।

चुनावका बेला आर्थिक समृद्धिको नारा लिने तर अन्य बेला यहाँको विकासमा निर्वाचित जनप्रतिनिधिले खासै चासो नदेखाएको आरोप लगाउँदै एमालेले बोलेको पुरा गर्ने दावी गर्नु भयो । कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रिय उपाध्यक्ष एवं पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’, फोरम लोकतान्त्रिकबाट निर्वाचित सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला ‘बब्लु’, महिला नेतृ पल्लबी शुक्ला, राजपाका केन्द्रिय सदस्य अब्दुल कलाम खान, नेपाल–भारत मैत्री संघका पूर्व अध्यक्ष मुरारीलाल अग्रवाल, केन्द्रिय सदस्यहरु हजरत बेलाल फकिर, अम्बिका त्रिपाठी, जिल्ला सदस्य ओमप्रकाश दुवेलगायतका नेता कार्यकर्ता एमाले प्रवेश गरेका सो पार्टीले जनाएको छ ।