
बुटवल, १४ कात्तिक । मालवाहक सवारी साधनको ओभरलोड समस्या समाधानकालागि भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७१ लागु गरेपनि सम्बन्धित सरकारी निकायबाट कार्यान्वयन नहुँदा ओभरलोड समस्या समाधान हुन सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले २०७१ भदौ १ गतेदेखि लागुहुने गरी मालवाहक सवारीको भारवहन नियमन सम्बन्धि कार्यबिधि लागु गरेको थियो । उक्त कार्यबिधि कार्यान्वयन गराउने सरकारी निकाय भन्सार कार्यालय, प्रहरी, यातायात व्यबस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्यविधि कार्यान्वयनमा उदासिनता देखाउँदा भारवहन नियन्त्रणकालागि बनेको कार्यबिधि अलपत्र जस्तै भएको हो ।
भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७१ मा ६ चक्के मालवाहक ट्रकले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बहन गर्न नपाईने उल्लेख छ । तोकिएको भारबहन क्षमता भन्दा बढी भारबहन गरेमा मालवाहक सवारी साधनले कार्यबिधिले तोकेअनुसारको जरिवाना तिरि ओभरलोडको सामान अनलोड गर्ने र उक्त सामानको आफैले जिम्मा लिनु पर्ने उल्लेख छ ।
त्यस्तै आयात भएको सामानको भारबहन क्षमता मिलान गरेर मात्रै ढुवानीकालागि सम्बन्धित भन्सार कार्यालयले ईजाजत दिनुपर्ने र तोकिएबमोजिम भन्दा बढी भारबहन गर्नुपर्ने सामाग्रिको हकमा सम्बन्धित यातायात व्यबस्था कार्यालयको स्वीकृतिमा मात्रै भन्सार कार्यालयले ढुवानी ईजाजत दिन पाउने कार्यविधिमा छ ।
तर ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरु बताउँछन् । लागु भएको कार्यविधि कार्यान्वयन गर्नकालागि पटक पटक सम्बन्धित कार्यालयहरुमा आग्रह गरिएपनि ती कार्यालयका अधिकारीहरुले वेवास्ता गरेको मालवाहक यातायात व्यबसायीहरुले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि गुनासो गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवल, बाणगंगा यातायात व्यबसायी समिति कपिलबस्तु र लुम्बिनी ट्रक यातायात व्यबसायी संघ भैरहवाले मंगलबार बुटवलमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अव पनि ओभरलोड समस्या समाधान नभए बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
भारतीय गाडीको ओभरलोडका कारण नेपाली व्यबसायीहरु आफ्ना सवारी साधन थन्काएर बस्नुपर्ने स्थिति उत्पन्न हुँदै गएको बताउँदै पश्चिमाञ्चल यातायात व्यबसायी समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाटले आन्दोलन बाहेक अरु केही विकल्प नभएको बताउनु भयो ।
भारतबाट वेलहिया तथा कृष्णनगर नाका हुँदै दैनिक १८० वटा सम्म भारतीय ट्रक नेपाल भित्रिने र त्यसमध्ये ५० प्रतिशत सवारी साधन अत्यधिक ओभरलोडका हुने पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताउनु भयो ।
‘जतिपनि भारतिय गाडीहरु नेपाल प्रवेश गर्दछन् ति ट्रकहरुमा अत्याधिक भारवहन हुन्छ जसले गर्दा नेपालका सडकको क्षमताले ति लोड धान्न सक्दैनन र सडक क्षतविक्षत हुनुका साथै अधिक लोडका कारण पुल पुलेसाहरु समेत जोखिममा परेका छन् ।’ पत्रकार सम्मेलनमा पश्चिमाञ्चल यातायात व्यबसायी समितिका निवर्तमान अध्यक्ष लोकराज पोखरेलले भन्नुभयो ।
नेपालमा मात्रै ६२ हजार ट्रक रहेको र ती ट्रकमा प्रत्यक्ष रुपमा सवालाख श्रमिकले रोजगारी पाएपनि सरकारले नेपाली व्यबसायीलाई वेवास्ता गरी भारतीय व्यबसायीलाई काखि च्यापेको लुम्बिनी ट्रक यातायात व्यबसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले बताउनु भयो ।
ओभरलोडको समस्या ट्रक व्यवसायीको मात्र नभई सार्वजनिक महत्वका बिषय भएकाले कानूनले निर्दिष्ट गरेका कुराहरु कानूनको परिपालना गर्ने गराउने निकायले नगरी कानूनकै वर्खिलाप गर्ने गरेको बाणगंगा यातायात व्यबसायी समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनु भयो ।
ओभरलोड समस्या समाधान नभए आन्दोलनको चेतावनी दिएका व्यबसायिक संस्थाहरुले लोड बहिस्कार गरि सवारी साधनका चावी प्रशासनलाई बुझाउने पश्चिमाञ्चल यातायात व्यबसायी समितिका महासचिव हरिप्रसाद कंडेलले बताउनु भयो । नारायणी पश्चिमका मालवाहक सवारी साधनका व्यबसायी समितिहरुले ओभरलोड नियन्त्रणकालागि केही समययता अभियान सञ्चालन गरेका छन् ।