भैरहवा, १९ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि मनोनयनत्रपत्र दर्ता गराएका मध्ये ९ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
जसमध्ये प्रतिनिधिसभा सदस्य तर्फ २ जना र प्रदेशसभा तर्फ ७ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार दिउँसो १ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय रहेको थियो ।
क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको लागि मनोनयत्र पत्र दर्ता गराएका नयाँ शक्ति पार्टी नेपालका नजिर अलि मुसलमान र स्वतन्त्र उम्मेदवार बैजनाथ सहानीले उम्मेदवारी फिर्ता लिएका छन ।
त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नं. १(१) बाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का उम्मेदवार राम नरेश कहाँर, क्षेत्र नं. ३(२) बाट प्रदेशसभाको लागि मनोनयनपत्र दर्ता गराएका स्वतन्त्र उम्मेदवार भवानीप्रसाद सापकोटा, क्षेत्र नं. ४(१) बाट नजिर अहमद मुसलमान र विनोद कुमार श्रीवास्तवले नाम फिर्ता लिएका छन् ।
त्यस्तै क्षेत्र नं. ४(२) बाट स्वतन्त्र उम्मेदवार अतिकुर रहमान खाँ र बहुजन शक्ति पार्टीका शिवदास यादव, प्रदेशसभाको लागि क्षेत्र नं. ५ (२) बाट स्वतन्त्र उम्मेदवार अल्ताफ खान र कोदइप्रसाद अहिरले उम्मेदवारी फिर्ता लिएका छन् । पाँच प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा गत कार्तिक १६ गते प्रतिनिधिसभा सदस्यको लागि ८८ र प्रदेशसभाको लागि १ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।