
बुटवल, २५ कात्तिक । आसन्न प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनकालागि नेपाली काँग्रेसले प्रचार अभियान सुरु गरेको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. २ अन्तरगत हुने प्रतिनीधि तथा प्रदेश सभाका उम्मेदवारले भोट माग्नकालागि शनिबारदेखि घरदैलो सुरु गरेका हुन् ।
रुपन्देहीको क्षेत्र नं. २ बाट नेपाली काँग्रेसले प्रतिनीधि सभामा महाधिवेशन प्रतिनीधि युवराज गिरी तथा प्रदेश सभामा १ बाट मजदुर नेता तथा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ र क्षेत्र नं. २ को २ बाट व्यबसायिक घरानाका नेता महेशमान सिंहलाई अंगाडी सारेको छ ।
घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै पार्टीका क्षेत्रीय सभापति हरि लम्सालले अहिलेको निर्वाचन अन्तरपार्टीको प्रतिस्पर्धा मात्रै नभएर लोकतन्त्र र साम्यवादको लडाई भएकाले मतदाताले बिचार गर्ने वेला भएको बताउनु भयो ।
उहाँले लामो संघर्षपछि प्राप्त उपलब्धि सहितको लोकतान्त्रिक व्यबस्था बिरुद्ध साम्यवाद ल्याउनेगरी बाम गठबन्धन लागेकाले लोकतन्त्रलाई बचाउने दायित्व काँधमा बोकेर नेपाली काँग्रेस अंगाडी बढेको उल्लेख गर्दै लोकतान्त्रिक व्यबस्थाको रक्षाकालागि नेपाली काँग्रेसलाई विजयी बनाउन मतदातालाई आह्वान गर्नुभयो ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरित नुहनेगरी शान्तिपुर्वक रुपमा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम गरेको निर्वाचन परिचालन समितिका संयोजक महाधिवेशन प्रतिनीधि यमबहादुर खत्रीले जानकारी गराउनु भयो । घरदोलोको क्रममा उम्मेदवारहरुले मतदातालाई भेटेर लोकतान्त्रिक व्यबस्था रक्षा गर्दै समृद्ध मुलुक निर्माणकालागि मतदान गर्न आह्वान गरेका छन् ।