मोटरसाईकलको लाईसेन्स तत्काल नखुल्ने, ‘प्रतिक्षामा ५० हजार’

1.3K

मोटरसाईकलको लाईसेन्स तत्काल नखुल्ने, ‘प्रतिक्षामा ५० हजार’

झविन्द्र देवकोटा/बुटवल, २६ कार्तिक । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल लाईसेन्स फाटले तत्कालका लागि मोटरसाईकलको सवारी चालक अनुमति पत्र (लाईसेन्स) आवेदन खुलाउन नसकिने जनाएको छ ।

जनशक्तिको अभाव तथा भौतिक पुर्वाधार प्रयाप्त नहुँदा मोटरसाईकलको आवेदन खुलाउन नसकिने कार्यालयले जनाएको हो । जनशक्ति थप र अनलाईन सिस्टममा दर्ता गर्ने प्रकृया नभएसम्म मोटरसाईकलको लागि चालक अनुमति पत्रको आवेदन खुलाउन समस्या हुने भन्दै तत्कालका लागि लाईसेन्स आवेदन खुलाउन अफ्ठ्यारो भएको कार्यालयको भनाई छ ।

कार्यालय प्रमुख बेदप्रकाश अर्यालले गएको वर्ष मोटरसाईकलको लाईसेन्सका लागि आवेदन खुल्ला हुँदा १९ हजारबढीले आवेदन दिएको र अहिले खुल्ला गरे ५० हजार बढीले आवेदन दिन सक्ने अनुमान कार्यालयको छ । उक्त संख्यामा लाईसेन्सका लागि आवेदन दिएमा स्मार्टलाइसेन्सका लागि आवेदकको फोटो खिच्न र नाम दर्ता गर्न मात्र एक वर्ष लाग्ने कार्यालय बताउँछ ।

कार्यालय प्रमुख अर्याल भन्नुहुन्छ –“ हाम्रो कार्यालय वर्षमा १ सय ८० दिन खुल्छ, हामीसँग भएको जनशक्तिले दैनिकै यहि काम गरेतापनि भ्याउदैन, थोरै छौ हामी, सक्दो गरेकै छौं, मन्त्रालयले जनशक्ति थपेमा काम गर्न हामीलाई सजिलो हुने थियो ।” अर्यालले यातायात ब्यवस्था कार्यालय लुम्विनीमा भएको समस्या विभागमा जानकारी गराएको सो बारेमा ढिलो चाडो सुनवाई हुने आश्वासन भएको बताउनुभयो । उहाँले अनलाईन प्रकृयामा आवेदन दर्ता गर्ने प्रकृया थालिएमा ग्रामिण बस्तीका ब्यक्तिलाई केही असहज हुने र त्यसको फाईदा ड्राईभिङ्ग ईन्ष्टिच्यूटले लिन सक्ने हुँदा पहिले नै सचेत हुनु पर्ने सुझाव उहाँको छ ।

कार्यालयले दिएको जानकारी अनुसार हालसालै मोटरसाईकलको चालक अनुमति पत्रका लागि पोखरामा २५ हजार र इटहरीमा ३५ हजारले आवेदन भरेका छन् । लुम्विनी अञ्चल कार्यालयमा खुलेमा त्यो आवेदन दोब्बर हुने अनुमान गरिएको हो । मोटरसाईकलको आवेदन खुलाउनका लागि अनलाईन सिस्टममा आवेदन भर्ने प्रकृयाको थालनी गर्नु पर्ने वा लुम्बिनी कार्यालयमा जनशक्ति थपेमा त्यो सहज हुने बताईन्छ ।

यस्तै यसअघि लुम्विनी कार्यालयबाट ट्याक्टर र टेम्पोका लागि चालक अनुमति पत्रको आवेदन खुलाइएकोमा टेम्पोमा नौ सयबढी र ट्याक्टरको नौसय जतिले परीक्षा पास गरेको कार्यालले जनाएको छ । हालै लिएको स्कुटरको परिक्षाका लागि झण्डै ४ हजारले आवेदन दिएको र अहिलेसम्म दुई चरणमा गरि साढे तीन सय बढीले स्कुटर (के) चालक अनुमति पत्रको परीक्षा पास गरेका छन् ।

त्यस्तै अरु बाँकी आवेदकको क्रमश लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिदै जाने र नतिजा पनि सँगसँगै सार्वजनिक गर्दै जाने कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । यस्तै कारको आवेदन भने अवस्था हेरिकन निर्वाचन पहिले वा निर्वाचन लगतै खुल्ने पनि कार्यालयले जनाएको छ ।