
बुटवल, २७ कात्तिक । नेकपा एमालेका उपमहासचिव एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समग्र रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताउनु भएको छ । उहांले अव मुलुक आर्थिक समृद्धिको दिशामा अगाडी बढिसकेको उल्लेख गर्दै यो यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ को निर्वाचन परिचालन कमिटीको बैठकलाई संबोधन गर्दै क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पौडेलले एमाले र माओवादी केन्द्रबीचको बाम गठबन्धन कसैका विरुद्ध नभएको उल्लेख गर्दै यो केवल मुलुकको स्थिरता र आर्थिक समृद्धिका लागि भएको दावी गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले आफूले बिगतमा जनप्रतिनिधि हुँदा गरेका कामबारे यस क्षेत्रका नागरिक जानकार रहेको उल्लेख गर्दै आफ्नो एकमात्र सपना विकास र समृद्धि रहेको बताउनुभयो । अव व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर विकास गर्नुपर्ने बेला आएको छ भन्दै उहांले यसका लागि हामी सबैसँग सहकार्य र हातेमालो गर्दै विकासको गतिलाई अगाडि बढाउँछौं भन्नुभयो ।
बैठकमा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ का निर्वाचन परिचालन कमिटीका संयोजक मोहन चापागाईंले प्रदेश १ अन्तर्गत गर्ने बुटवल र तिलोत्तमाका १० वटै वडाहरुमा निर्वाचन परिचालनका लागि विभिन्न उपसमितिहरु गठन भैरहेको जानकारी दिंदै मंसिर १ गतेदेखि घरदैलो अभियान सुरु गर्ने तयारी भैरहेको बताउनुभयो ।
माओवादी केन्द्रका नित्यानन्द डुम्रेले बामपन्थी गठबन्धन पार्टी एकतासम्म पुग्ने भएकाले यसलाई दीगो बनाउने गरी योजना बनाइएको उल्लेख गर्नुभयो । त्यस अवसरमा निर्वाचन परिचालन कमिटीका सहसंयोजकहरु गोपाल राना, क्रृषि पाण्डे, सुदिप न्यौपाने, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।