पाल्पा, २४ मंसिर । प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा पाल्पाबाट नेपाली काँग्रेसलाई क्लिन स्वीप गर्ने एमाले–माओवादीको बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनीधि सभामा २ र प्रदेश सभामा ४ क्षेत्र रहेको पाल्पामा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।पाल्पामा एमाले माओवादीको बाम गठबन्धनबाट एक प्रदेश सभामा माओवादी र बाँकी सबैमा एमाले उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
पाल्पाको क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा एमाले उम्मेदवार दलबहादुर राना जिवयी हुनु भएको छ । उहाँले ३२ हजार ५४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गर्नुभएको थियो । ८५ हजार ९८६ मतदाता रहेको पाल्पाको क्षेत्र नं. १ मा ५९ हजार ४३० मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा तर्फ १(१) बाट काँग्रेस उम्मेदवार देवराज ढकाललाई हराउँदै एमालेका युवराज खनाल १७ हजार ८५१ मत सहित विजयी हुनु भएको छ भने १(२) बाट काँग्रेस उम्मेदवार दानबहादुर पछाई क्षेत्रीलाई पराजित गर्दै एमालेका नारायणप्रसाद आचार्य १४ हजार ७६५ मत सहित विजयी हुनु भएको छ ।
पाल्पाको क्षेत्र नं. २ मा एमाले उम्मेदवार पूर्वमन्त्री सोमप्रसाद पाण्डेय विजयी हुनु भएको छ । उहाँले ३४ हजार ८९९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपाल २४ हजार ५५४ मत प्राप्त गर्नुभएको थियो । ९५ हजार २६९ मतदाता रहेको पाल्पाको क्षेत्र नं. २ मा ६३ हजार ७३८ मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा तर्फ पाल्पाको २(१) बाट काँग्रेस उम्मेदवार माधवप्रसाद नेपाललाई पराजित गर्दै एमालेका पुरनमान बज्राचार्य १८ हजार ४२ मत सहित विजयी हुनु भएको छ भने २(२) बाट काँग्रेस उम्मेदवार रामबहादुर कार्कीलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती मगर १६ हजार ४२२ मत सहित विजयी हुनु भएको हो ।
त्यस्तैगरी दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लाका दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं. १ मा एमाले उम्मेदवार प्रदिपकुमार ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले ३० हजार २५६ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा तर्फ १(१)बाट काँग्रेस उम्मेदवार पृथबहादुर फौदारलाई पराजित गर्दै माओवादी केन्द्रका सुदर्शन बराल १७ हजार ९१० मत सहित विजयी हुनु भएको छ भने १(२) बाट नेपाली काँग्रेसका उम्मेदवार धनेन्द्र कार्कीलाई पराजित गर्दै एमाले उम्मेदवार कमलराज श्रेष्ठ १९ हजार ५९१ मत सहित विजयी हुनु भएको हो ।
त्यस्तै क्षेत्र नं. २ मा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित हुनु भएको छ । उहाँले ३४ हजार ६१८ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेदवार चन्द्रबहादुर केसीले २० हजार १५७ मत प्राप्त गर्नुभएको थियो । प्रदेश सभा तर्फ २(१)बाट काँग्रेस उम्मेदवार शालिकराम पन्थीलाई पराजित गर्दै एमाले उम्मेदवार खड्गबहादुर खत्री १६ हजार १६५ मत सहित विजयी हुनु भएको छ भने २(२) बाट छन्दबहादुर पहराई मगरलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार दिनेश पन्थी १७ हजार ६०१ मत सहित विजयी हुनु भएको हो ।