गौतम बुद्ध विमानस्थल निर्माणमा अधिग्रहणमा परेका किसान आन्दोलित

1.3K

गौतम बुद्ध विमानस्थल निर्माणमा अधिग्रहणमा परेका किसान आन्दोलित

बुटवल, पुस । रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा जग्गा अधिग्रहणमा परेका किसान आन्दोलित भएकाछन् । उनीहरुले सहज र छिटो मुआब्जाको रकम पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

केही दिन देखि आन्दोलित हुंदै आएका विमानस्थल पीडित किसानले सोमवार भने बिहानैदेखि निर्माणाधिन धावनमार्गको काम ठप्प पारेर आयोजना स्थलमा निर्माण सामाग्री लैजाने काममा समेत अवरोध गरे ।

आयोजनाले मुआब्जा सहज रुपमा उपलब्ध गराउनेतर्फ सहजीकरण नगरेको, मुआब्जा लिनका लागि आवश्यक कागजात पेश गर्दा मालपोत, नापी, वन लगायतका कार्यालयका कर्मचारीले धेरै दिनसम्म अल्झाएर दुःख दिने गरेको, केही कर्मचारीले किसानसंग अतिरिक्त पैसा माग्ने गरेको, चाँडो मुआब्जा उपलब्ध गराईदिने भन्दै बिचौलियाले कमिशन माग्ने गरेको गुनासो आन्दोलित किसानको छ ।
आन्दोलनरत किसानले मुआब्जा प्रकृया चाँडो र सहज रुपमा उपलब्ध गराईनुपर्ने माग राख्दै आएपनि कुनै सुनुवाई नभएको र मुआब्जा पाउनकालागि महिनौंसम्म धेरै कार्यालय धाउँदापनि पाउन नसकेको पीडित किसानले गुनासो गरेका छन् ।

जग्गा अधिग्रहणमा परेपछि जोतभोग पनि गर्न नपाइने र मुआब्जा पनि नपाईनाले आर्थिक समस्यामा परेको भनाई आन्दोलित किसानको छ । डेढ महिना अघिपनि उनीहरु यही माग राखेर आन्दोलित भएका थिए । गौतम बुद्ध विमानस्थललाई सम्पुर्ण भौतिक पुर्वाधारसहितको अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माणकालागि पछिल्लो पटक थप ५ सय बिगाहा जमिन अधिग्रहण गरिएको हो ।
यो अधिग्रहण पश्चात् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल ७ सय ८७ बिगाहा कायम भएको छ । पछिल्लो पटकको घर जग्गासहित जग्गा अधिग्रहणमा पर्नेको संख्या २ हजार भन्दा धेरै छ । किसानको मुआब्जाकालागि आयोजनाले करिव २३ अर्ब रुपैयाँ वितरण गर्नु पर्ने छ । तर आयोजनाले हालसम्म करिव ४ सय घर परिवारलाई मात्र मुआब्जा वितरण गरेको जनाएको छ ।

आयोजनाका प्रमुख ओम शर्माले हालसम्म करिव ७० बिगाहा जमिनका लागि साढे ३ अर्ब रुपैयाँ वितरण गरेको बताउनु भयो । उहाँका अनुसार नापी कार्यालयमा आवश्यकता अनुरुप जनशक्ति नहुँदा जग्गा छुट्याउन समय लाग्ने गरेकाले किसानले मुआब्जाकालागि धेरै दिन कुर्नु परेकोे हो ।

चाँडो मुआब्जा उपलब्ध गराउन विमानस्थलको मात्रै काम गर्ने गरि ५ जना सर्वेक्षकको टिम उपलब्ध गराउन भनेर नापी विभागसंग पत्राचार गरिएको आयोजना प्रमुख शर्माले बताउनु भयो ।

आयोजनाले दैनिक १० घर परिवारका दरले मासिक २ सय ५० परिवारलाई मुआब्जा वितरण गर्ने व्यवस्था मिलाएकोले आउंदो बैशाख जेठसम्ममा मुआब्जा वितरण गरेर सकिने प्रमुख शर्माले बताउनुभयो । तर पीडित किसानहरु भने दुई महिना भित्रै सवै मुआब्जा रकम पाउनुपर्ने माग गरि आन्दोलन गरिरहेका छन् ।