
बुटवल, ९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता विश्वप्रकाश शर्माले पार्टी भित्रको आन्तरिक र बाह्य कारणले काँग्रेसले हार व्यहोर्नु परेको बताउनु भएको छ । उहाँले सबै पार्टीले एकल उम्मेदवारी दिएको भए काँग्रेसले मुलुक भरी जित्ने दावी गर्दै जितेका उम्मेदवारले मतदाताको विश्वासलाई खण्डित हुन नदिन आग्रह गर्नुभयो ।
२०३६ सालको जनमत संग्रहलाई धोका भन्ने एमाले र संसदीय व्यबस्था बिरुद्ध बन्दुक उठाएको माओवादी संसदीय व्यबस्थाबाटै समाज रुपान्त्रण गर्न सकिन्छ भन्ने काँग्रेसको बिचारमा आउनु नेपाली काँग्रेसको जित भएको बताउँदै देशकालागि आँखा, मुटु, कलेजो दिने काँग्रेसलाई बाम गठबन्धनले सरकार बनाउँदै गर्दा भुल्न नहुने उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर समितिले आईतबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै युवा नेता शर्माले काँग्रेस नेतृत्वको सरकारले गरेका काम, काँग्रेस नेतृत्वमा जारी भएको संविधान, संविधानको कार्यान्वयन लगायतका काम जनतालाई बुझाउन नसक्नु र बाह्य रुपमा चुनावको मुखमा ठूला कम्युनिष्ट दल एमाले र माओवादी मिल्नु तथा सर्बोच्च अदालतकी मुख्य न्यायधिक सुशिला कार्की बिरुद्धको महाभियोग र आईजी प्रकरणले गरेका काम आझेलमा पर्दा पार्टीका उम्मेदवारले हार्नु परेको उहाँले बताउनु भयो ।
त्यस्तै बाम गठबन्धन गरेका एमाले र माओवादीको अन्तरबिरोधमा प्रहार गर्न नसक्नु पनि पार्टीको कमजोरी भएको उहाँले बताउनु भयो ।
संघीय प्रदेशको नाम र स्थानका बारेमा अबको डेढ महिना भित्र मुलुकमा गम्भिर संकट आउन सक्ने बताउँदै त्यसमा बहुमत ल्याउने बाम गठबन्धन लडखडायो भने नेपाली काँग्रेस सहयोगी भूमिकामा आउने उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस फूटवल हारेको टिम बन्न नसक्ने बताउँदै फूटवल हारेको टिममा जस्तो पार्टी भित्र द्वन्द्व हुनु राम्रो भएको उहाँले बताउनु भयो । ‘हामी बदलिन्छौं, काँग्रेस बदल्छौं ।’ उहाँले भन्नुभयो–‘काँग्रेस अस्पतालमा छ, सहि ट्रिटमेन्ट भए रोग निको हुन केही बेर लाग्दैन ।’
तत्कालिन राजा महेन्द्र र माओवादीले गर्धन छानेर काटेको काँग्रेस एउटा चुनाव हार्दैमा समाप्त नहुने बताउँदै उहाँले पार्टी भित्र गहिरो छलफल गरेर बाटो तय गर्नुपर्ने धारणा राख्नुभयो । ‘काँग्रेसमा कपालको रौंदेखि खुट्टाको नङ्सम्म समस्या छ ।’ उहाँले भन्नुभयो–‘कुरा एजको होईन, एजेण्डाको हो ।’