ट्राफिक प्रहरीको दुर्घटना न्यूनिकरण अभियान,‘चालक सुध्रिए ८० प्रतिशत दुर्घटना न्यूनिकरण गर्न सकिन्छ’

1.3K

ट्राफिक प्रहरीको दुर्घटना न्यूनिकरण अभियान,‘चालक सुध्रिए ८० प्रतिशत दुर्घटना न्यूनिकरण गर्न सकिन्छ’

बुटवल, ९ पुस । सवारी दुर्घटना न्यूनिकरणकालागि पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले तीन प्रकारका अभियान सञ्चालन गरेको छ । दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रहरीले चालकसंग एक मिनेट कार्यक्रमलाई पूनः सुचारु गरेको छ भने सिभिल प्रहरी परिचालन र लेन अनुशासन कार्यक्रम सुरु गरेको पश्चिम क्षत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

चालकको लापरवाहीका कारण अत्यधिक दुर्घटना हुने गरेकाले चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउनकालागि स्थानीय तहको चुनाव अगाडी नै प्रहरीले चालकसंग एक मिनेट कार्यक्रम सुरु गरेको थियो । चुनावका समयमा जनशक्तिको अभावका कारण उक्त कार्यक्रम रोकिएको थियो । चुनाव सकिएसंगै पुनः चालकसंग एक मिनेट कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।

चालकसंग एक मिनेट कार्यक्रममा बिशेष स्थानमा सवारी साधान रोकेर चालकहरुलाई जम्मा गरिने र उनीहरुलाई लेनको प्रयोग, ओभरटेक, यात्रुसंग गर्ने व्यबहार लगायतका बिषयमा जानकारी गराईनेछ । सवारी साधनको संख्या अत्यधिक बृद्धि भएको र त्यसबाट उत्पन्न हुनसक्ने दुर्घटना रोक्नकालागि प्रहरीले यो कार्यक्रम रुपन्देही, कपिलबस्तु र नवलपरासीका दुई गरी पश्चिमाञ्चल क्षेत्रमा पर्ने तराईका चार जिल्लामा सञ्चालन गरेको हो ।

त्यस्तैगरी चालकले ट्राफिक नियम पालना गरेनगरेको अनुसन्धान गर्नकालागि साझको समयमा शादा पोशाकमा प्रहरी परिचालन गरेको छ । जसमा एक जना अफिसरको कमाण्डमा ५ जना शादा पोशाकमा प्रहरी परिचालन हुनेछन् । तत्काल बुटवलमा सुरु गरिएको यो कार्यक्रममा शादा पोशाकमा परिचालन भएका ट्राफिक प्रहरीले विशेष गरेर मोटरसाईकलका चालकले हेलमेट प्रयोग गरेका छन् छैनन्, सवारी चलाउँदा मोवाईल फोनको प्रयोग भएनभएको, चारपाङ्ग्रे साना सवारीका साधन चालकले सिटवेल्ट प्रयोग गरेनगरेको अनुसन्धान गर्ने र ट्राफिक नियमलाई पालना गर्न प्रोत्साहन गर्नेछन् भने हेलमेट प्रयोग गर्ने, सवारी चलाउँदा मोवाईल प्रयोग गर्ने, सिटवेल्ट नलगाउने कामलाई निरुत्साहित गर्ने प्रहरी नायव परिक्षक बुढाथोकीले बताउनु भयो ।

त्यस्तै प्रहरीले हाईवेमा हुने दुर्घटना रोक्नकालागि पनि छुट्टै कार्यक्रम सुरु गरेको छ । प्रहरीले हाईवेमा हुने दुर्घटना रोक्नकालागि पनि हाईवे चेकिङ् गर्ने र त्यहा पनि चालकलाई सडकको प्रयोगबारे जानकारी गराउने उहाँले बताउनु भयो । ‘दुर्घटना आकस्मिक हुने कुरा हो, मेकानिकल ईररबाट हुने दुर्घटना रोक्न सकिँदैन ।’ प्रहरी नायव उपरिक्षक बुढाथोकीले भन्नुभयो–‘तर चालकका गल्ती तथा कमजोरीबाट हुने दुर्घटना रोक्न सकिन्छ ।’

सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा मानवीय गल्ती कमजोरीबाट अध्यधिक सवारी दुर्घटना हुने गरेका छन् । चालकबाट हुने गल्ती कमजोरी सुधार गर्ने हो भने कम्तिमा ८० प्रतिशत दुर्घटना न्यूनिकरण गर्न सकिने उहाँले बताउनु भयो । गत असार मसान्त सम्म लुम्बिनी अञ्चल यातायात व्यबस्था कार्यालय बुटवलमा ४ लाख १२ हजार ५६४ वटा सवारी साधान दर्ता भएका छन् भने कुल दुर्घटनाको ८० प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारणले हुने गरेको तथ्याङ्क पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक नारद कार्कीले जानकारी दिनुभयो ।