बुटवल, ९ पुस । बैदेशिक रोजगारीका कारण सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परेका प्रभावका बारेमा आईतबार बुटवलमा छलफल भएको छ ।बैदेशिक रोजगारीका कारण नेपालमा भित्रिने रेमिट्यान्स र बैदेशिक रोजगारीमा जानेक्रममा देश भित्र तथा सम्बन्धित देशमा काममा शिलशिलामा भोगेका समस्याका बारेमा चर्चा हुने गरेपनि बैदेशिक रोजगारीका कारण त्यसले सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा पारेका प्रभावका बारेमा खासै चर्चा हुँदैन ।
बैदेशिक रोजगारी लगायतका बिषयमा अध्ययन अनुसन्धा र विश्लेषण गर्ने संस्था सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले आईतबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगारीका कारण सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पार्ने प्रभावका बारेमा छलफल भएको हो ।
छलफलका क्रममा आयोजक संस्था सामाजिक परिवर्तन नेपालका अध्यक्ष डा. प्रकाश भट्टराईले बैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सका माध्यमबाट प्रभाव पारेजस्तै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्ने बताउनु भयो ।
उक्त संस्थाले आर्थिक वर्ष २०७१÷०७२ र २०७२÷०७३ मा गरेको अध्ययन अनुसार आन्तरिक आप्रवासनको केन्द्रका रुपमा बिकास भएको रुपन्देही जिल्लाबाट बैदेशिक रोजगारीकालागि २५ हजार जनाले श्रम स्वीकृति लिएका थिए । जसमध्ये २४ हजार भन्दा बढी पुरुष छन् ।
त्यस्तै बैदेशिक रोजगारीबाट फर्केपछि पहाडी जिल्लाबाट बसाई सराईको केन्द्र पनि रुपन्देही बनेको छ ।बैदेशिक रोजगारीका कारण मुलुकको अर्थतन्त्रको हिस्सा करिव ३० प्रतिशत ओगटेको छ । यदि मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर हुँदैगयो भने दीगो आर्थिक बिकासकालागि नराकात्मक हुने र मुलुकको अर्थतन्त्र ध्वस्त हुने उहाँले बताउनु भयो ।
वैदेशिक रोजगारीकै कारण मुलुक भित्र कृषिजन्य उत्पादनमा भारी गिरावट आएको छ भने देश भित्र जनशक्तिको अभाव बिकराज बन्दै गएको छ ।नेपालको करिव ४० लाख जनसंख्या वैदेशिक रोजगारीका सिलसिलामा मुलुक बाहिर छ । जसका कारण निर्वाचनको मत परिणाम नै प्रभाव पार्ने जनसंख्या मतदानबाट वञ्चित छन् ।
बैदेशिक रोजगारीकै कारण सम्वन्ध विच्छेद तथा अन्तरदेशीय विवाहका घटना बढेका छन् । त्यस्तै श्रीमान श्रीमती बिचको सम्बन्धमा कटुता सिर्जना भएको छ भने प्रजनन शक्तिमा ह्रास उत्पन्न गराएको सामाजिक परिवर्तन केन्द्रका अध्यक्ष डा. भट्टराईले बताउनु भयो । त्यस्तैगरी तराई मधेशका क्षेत्रमा दाईजो प्रथामा बृद्धि भएको छ भने भूमिमाथि पहुँच नभएका व्यक्तिमा भूमि तथा सम्पत्तिमा अधिकार स्थापित भएको छ ।
कार्यक्रममा बोल्दै बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता भएको बताउँदै वैदेशिक रोजगारीका कारण मुलुकको अर्थतन्त्र धानिएको बताउनु भयो । व्यक्तिको आर्थिक अवस्थामा सुधार आएपनि बैदेशिक रोजगारीले सकारात्मक तथा नकारात्मक दुबै प्रभाव पारेको उहाँले बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत रामप्रसाद अर्यालले बैदेशिक रोजगारीमा सकारात्मक र नकारात्मक दुबै कुरा भएकाले सुधारका लागि नीतिगत रुपमै सुधार गर्न आवश्यक रहेको बताउनु भयो । वैदेशिक रोजगारीमा जाने युवाले सम्बन्धित देशमा दुःख नपाउनकालागि नेपालबाटै सीप सिकेर र के कामकालागि जाने हो सबै कुरा प्रष्ट भएर जान सुझाव दिनुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठले सरकारले नीतिगत रुपमा भएका त्रुटी तथा कमीकमजोरीहरुलाई सुधार गर्ने र वैदेशिक रोजगारीकालागि सीप अनिवार्य गराउने हो भने समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, गैर सरकारी संस्था महासंघ रुपन्देहीका सचिव धर्मराज घिमिरे, जवाफदेहीता निगरानी समिति लुम्बिनीका अध्यक्ष महेन्द्र पाण्डे, पत्रकार भवानीप्रसाद पाण्डे, सीप मुलक तालिम प्रदायक संस्था देउराली जनता प्रविधिक बिद्यालयका सञ्चालक प्रकाश राना लगायतले आप्रवासन समस्या रोक्न नसकिने जटिल समस्या बनिसकेको बताउँदै नेपाल भारत खुला सिमाका कारण पनि असुरक्षित आप्रवासन बढीरहेको बताएका थिए ।
वैदेशिक रोजगार सूचना केन्द्रमा काम गर्ने महिलाहरु जानकी अर्याल, ज्ञानसरा राना लगायतले वैदेशिक रोजगारीमा नराम्रा मात्रै नभएर राम्रा कुरा पनि भएको बताउँदै विपन्न परिवारलाई वैदेशिक रोजगारीकै कारण उसको आर्थिक स्तरमा सुधार भएको बताएका थिए ।