
बुटवल, १२ पुस । नीतिगत सुधार नहुँदा सम्म औद्योगिक क्षेत्रमा बिकास हुन नसक्ने बुधबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।
उनीहरुले मुलुक भित्र औद्योगिक बिकासकालागि आयात प्रतिस्थापन गर्न सक्नेगरि नितिगत व्यबस्था गर्नुपर्ने सरकारलाई सुझाव दिए । मुलुक भित्र प्रतिस्पर्धी बस्तुको उत्पादन हुन नसक्नु र उत्पादन भएका बस्तुको पनि आयात भएका बस्तुको भन्दा मुल्य बढी हुनु औद्योगिक बिकासका दरार भएको बताएका थिए ।
रुपन्देही उद्योग संघले सञ्चालन गरेको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीका सन्दर्भमा आयोजना गरिएको रुपन्देहीमा उद्योग र पर्यटनका चुनौती र सम्भावनाहरु बिषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले नीतिगत व्यबधानका कारण लगानीकर्ताहरु हतोत्सायित भएको बताउनु भयो ।
मुलुक भित्रको राजनीतिक अस्थिरता, सरकार परिवर्तन हुनासाथ नीतिमा हुने परिवर्तन, उर्जा (विद्युत) संकट, उत्पादन भएको बस्तु विक्रिका लागि बजार र बजार नपाए सरकारको खरिद गर्ने क्षमताका बिषयमा विदेशी लगानी कर्ताको प्रश्न रहने बताउँदै उहाँले यी कुराहरु ग्यारेन्टी गर्न सकेमात्रै लगानी भित्रिने बताउनु भयो ।
रुपन्देही जिल्लामा औद्योगिक बिकासका सम्भावना प्रसस्त भएपनि यस्तै कारणले लगानी कर्ताहरुले लगानी गर्न नसकेको बताउँदै उहाँले अव मुलुकमा राजनीतिक अस्थिरताको अन्त्यतिर उन्मुख भएकाले लगानीकालागि अवसको समयलाई अवसर बनाउनु पर्ने बताउनु भयो । उहाँले मुलुक हरेक कुरामा परनिर्भरता बढ्दै गएको बताउँदै परनिर्भरता बढ्दै गयो भने राजनीतिक स्थिरता भएपनि बिकास हुन नसक्ने बताउनु भयो ।
कुखुरा तथा अण्डा र चल्ला आयातमा प्रतिवन्ध लगाएकै कारण अहिले कुखुरा तथा अण्डामा मुलुक आत्मनिर्भर भएको बताउँदै उहाँले मुलुकको हितमा काम गर्दा डव्लु.टी.ओ. र खुल्ला अर्थ नीतिले रोक्न नसक्ने उहाँको भनाई थियो ।
रुपन्देही जिल्लामा भौगोलिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्रहरु भएको, जलस्रोतको भण्डार, छिमेका दुई ठूला मुलुक र बजारको सम्भावना प्रसस्त छ । त्यस्तै एक गाउँ एक उत्पादनकालागि माछा, पशुपालन, तरकारी खेती, मौरी पालन, कुखुरा पालन लगायतका प्रसस्त सम्भावना छ ।
त्यस्तै पर्यटनकालागि लुम्बिनीका क्षेत्र, बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई हराएको जीतगढी किल्ला, आदीमानव रामापिथेकसको बंगारा भेटिएको स्थान लगायतका प्रसस्त स्थल भएपनि ती क्षेत्रको प्रयाप्त बिकास र प्रचार प्रसार गर्न सके पर्यटक भित्र्याउन र पर्यटनका माध्यमबाट मुलुकको आर्थिक बिकास गर्न सकिन्छ । त्यसकालागि पूर्वाधार बिकासमा कार्यपत्र प्रस्तोता पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकालले जोड दिनुभयो । उहाँले आयातित कच्चा पदार्थमा आधारित उद्योग धन्दा सञ्चालन गर्ने भन्दा पनि यहि उपलब्ध हुने कृषिजन्य उत्पादनमा समेत जोड दिनुभयो ।
कार्यपत्रको टिप्पणी गर्दै संस्कृति तथा पर्यटन विद प्राध्यापक डा. गितु गिरीले रुपन्देहीको उद्योग तथा पर्यटन बिकासका सम्भावनाको खोजी गर्दा कार्यपत्र प्रस्तोता गहिराईमा पुग्न नसकेको बताउनु भयो । उहाँले जिल्लामा हाल कति उद्योग छन्, कस्ता उद्योग छन्, कस्ता उद्योगकको आवश्यकता छ लगायतका कुराहरु ल्याउन सकेको भए त्यो औद्योगिक बिकासको एउटा अधार बन्न सक्ने बताउनु भयो ।
उहाँले मुलुक भित्र जलस्रोत, कृषि र पर्यटनमा सम्भावना देखिएको भएपनि जलस्रोत र कृषिमा भन्दा पर्यटनमा प्रयाप्त सम्भावना रहेको बताउनु भयो । उहाँले काठमाण्डौमा बसेर नीति मात्रै बनाएर बिकास नहुने बताउँदै नीति बनाउँदा बस्तुगत अध्ययन गरेर बनाउन सरकारलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले रुपन्देहीमा उद्योग र पर्यटनको सम्भावना उत्तिकै रहेका यसको बिकासकालागि नगरपालिकाले जोड दिएको बताउनु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव माधव पौडेलले सञ्चालन गर्नुभएको थियो भने गोष्ठि आयोजक उपसमितिकी संयोजक मायाँ खनालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा यस क्षेत्रका बिभिन्न संघसंस्थाका प्रतिनीधिहरु सहभागि थिए ।