
बुटवल, १८ पुस । बुटवलमा सञ्चालित राष्ट्रिय औद्योगिक प्रदर्शनी सकिएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा रुपन्देही उद्योग संघले गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ मा ६ लाख दर्शकले अवलोकन गरेको र २० करोडको कारोवार भएको बताईएको छ ।
प्रदर्शनी समापन समारोहमा बोल्दै मुल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले स्वदेशकै स्रोत साधनको उपयोग, औद्योगिक विकास र आत्मनिर्भर अर्थतन्त्रलाई अगाडी बढाउन यस प्रकारका प्रदर्शनीहरुले टेवा दिने विश्वास गर्नुभयो ।
समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै मुल समितिका सदस्य सचिव माधवप्रसाद पौडेलले प्रदर्शनीमा करिव ६ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अपेक्षा गरिएकोमा ६ लाख २५ हजार दर्शक आएको र अपेक्षाकृति रुपमा कारोवार भएको बताउनु भयो ।
विभिन्न प्रकृतिका ५ सय स्टल सहभागि रहेकोमा उद्योगबाट एनभि पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा.लि. नवलपरासी प्रथम, मयुर स्टिल इण्डष्ट्रिज रुपन्देही द्वितीय, कपिलवस्तु ग्लास फाइवर उद्योग तृतीय तथा बि.जि.ग्रुप, गुल्मी र हिमाली कृषि औजार उद्योग, गोर्खा सान्त्वना भएका छन् । यसैगरी सम्पूर्ण औद्योगिक प्रष्ठिानहरुमध्येबाट सर्वाेत्कृष्ट प्रतिष्ठान आवास गु्रप भएको मुल्याङ्क समितिका संयोजक बोनिन पियाले बताउनु भयो ।
समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लिला गिरीले प्रदर्शनीले यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ बाटाहरु खोज्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले मुलुकले राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको बाटो समातेको अवस्थामा अब बन्ने सरकारले नीजी क्षेत्रको सहयोग र सहभागितामा काम गर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतीराज पाण्डे, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष शतिसचन्द्र कशौधन, नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्मा, पूर्व सांसद बामदेव क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपाध्यक्ष महेश थैव, सदस्य कृष्णप्रसाद पराजुली लगायतले भनाई राखेका थिए ।
सोही अवसरमा सहआयोजक, प्रर्बद्धक, सौजन्यकर्ताहरु, उत्कृष्ट उपसमिति संयोजक, सहसंयोजक एवं सदस्यहरु, सहयोगी संघसंस्था र विभिन्न निकायहरुलाई सम्मान, कदर र प्रशंसापत्र प्रदान गरिएको थियो ।