बुटवल, २३ पुस । युवा व्यबसायी तथा एमालेको भातृ संगठन युवा संघका नेता बसन्त पौडेलको हत्याको बिराधमा युवासंघले आह्वान गरेको अनिश्चित कालिन रुपन्देही जिल्ला बन्द फिर्ता भएको छ ।
आईतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा राजनीतिक दलका नेताहरुसंघ भएको वार्ताबाट बिभिन्न सहमति भएको र सोही सहमतिका आधारमा आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिनुभयो ।
राजनीतिक दलका नेताहरु तथा प्रशासन र सुरक्षा निकायका प्रमुखहरु संग भएको वार्तामा हत्या गरिएका बसन्त पौडेल र अंघिल्लो वर्ष हत्या भएका दुर्गा तिवारीलाई सहिद घोषणा गर्न जिल्लाबाट सिफारिस गर्ने, अपराधमा संलग्नलाई तत्काल पहिचान गरि पक्राउ गर्ने तथा देवदहको प्रहरी चौकीलाई स्तरबृद्धि गर्ने र जनशक्ति थप परिचालन गरि नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउने तथा सुरक्षा चुनौतीमा रहेका भनिएका व्यक्तिहरुलाई सुरक्षा प्रदान गर्ने समहति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।