प्रदेश ५ पहिलो प्रदेशसभा बैठक : प्रदेशलाई समृद्ध बनाउन सहमति र सहकार्यमा जोड

1.3K

प्रदेश ५ पहिलो प्रदेशसभा बैठक : प्रदेशलाई समृद्ध बनाउन सहमति र सहकार्यमा जोड

बुटवल,  माघ । पाँच नम्बर प्रदेशलाई समृद्धिका हिसावले मुलुककै एक नम्बर प्रदेश बनाउन सक्ने प्रसस्त सम्भावना भएकाले त्यसकालागि सबै राजनीतिक दलहरु सहमति र सहकार्यमा लाग्नुपर्नेमा प्रदेश सांसदहरुले जोड दिएका छन् ।

प्रदेश नंम्बर पाँचको आईतबार भएको पहिलो प्रदेश सभामा दलीय आधारमा भनाई राख्ने क्रममा साँसदहरुले समृद्धिलाई जोड दिँदै त्यसकालागि सहमति र सहकार्य आवश्यक रहेको बताएका थिए ।

बैठकमा एमाले प्रदेश सभासंसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाले छोटो समयमा धेरै काम गर्नुपर्ने उल्लेख गर्दै शुन्य संरचनाबाट बलियो फाउण्डेसन खडा गर्ने चुनौति आफूहरुको काधमा आएको बताउनु भयो ।

उहाँले प्रदेश संरचना शुन्य समयबाट शुरु गर्नेपर्ने भएकाले यसमा ठूलो चुनौती भएपनि पाँच नम्बर प्रदेशमा बिकास समृद्धिको बलियो आधार भएकाले आफूहरु समक्ष अवसर पनि भएको बताउनु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका कुलबहादुर केसी युद्ध स्तरमा काम गरेर नमुना प्रदेश बनाउने दिशामा अग्रसर हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका सांसद बिरबहादुर रानाले संघीय लोकतान्त्रिक गणतन्त्रमा नागरिकले सहज ढंगले सेवा पाउनु पर्ने उल्लेख गर्दै प्रदेश सभामा समृद्धिको लागि एकता हुनुपर्ने बताउनु भयो । बैठकमा संघीय समाजबादी फोरम नेपालका तर्फबाट सहश्रराम यादब, राष्ट्रिय जनमोर्चाकी तारा जिसीले पनि आफ्नो दलका तर्फबाट मन्तव्य राख्नुभएको थियो ।

आईतबार भएको पाँच नम्बर प्रदेशको पहिलो बैठकले आगामी फागुन २ गतेकालागि सभामुख र उपसभामुखको निर्वाचन गर्ने मिति तय गरेको छ । त्यसकालागि सभामुखको भूमिका निर्वाह गर्नुभएका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले आईतबार नै सूचना प्रकाशित गर्न संसद सचिवलाई निर्देशन दिनुभयो ।

त्यसैगरी बैठकले प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि–२०७४ पारित गरेको छ । बैठकको सुरुमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य शर्माले प्रदेश प्रमुखबाट बैठक सुरु भएको पत्र पढेर सुनाउनुभएको थियो ।