प्रदेश पाँचको उपसभामुखमा एमालेकी कृष्णी थारु विजयी

1.3K

प्रदेश पाँचको उपसभामुखमा एमालेकी कृष्णी थारु विजयी

बुटवल, ६ फागुन । प्रदेश पाँचको उपसभामुखमा ६६ मतका साथ कृष्णी थारु निर्वाचित हुनभएको छ । आईतबार प्रदेश सभाको बैठकमा बाम गठबन्धनबाट उमेद्वार बन्नुभएकी एमालेकी थारु निर्वाचित हुनुभएको हो ।

संसदमा उपस्थित ८५ जना सांसद मध्ये थारुको पक्षमा ६६ मत र विपक्षमा १९ मत परेको थियो । उपसभामुखको चयन गर्न प्रदेश सभामा मत विभाजनबाट दस्तखत लिइएको थियो । प्रदेश सभाको उपसभामुखकालागि नेपाली काँग्रेसबाट रिना नेपाल विश्वकर्माले उमेद्वारी दिनुभएको थियो ।

कृष्णी थारुको प्रस्तावकमा एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल र समर्थकमा माओवादी केन्द्रका दधिराम न्यौपाने रहनु भएको थियो भने काँग्रेस उम्मेदवार विश्वकर्माको प्रस्तावकमा सोही पार्टीकै सुरेन्द्र हमाल र समर्थक रमा अर्याल रहुनभएको थियो । दुबै पक्षका प्रस्तावक र समर्थकले आफ्नो भनाइ राखेपछि मत विभाजन गराइएको हो । सुरुमा कृष्णी थारुको लागि गराइएको मत विभाजनमा बहुमत मत प्राप्त गरेपछि कृष्णी थारुलाई उपसभामुखमा विजयी घोषणा गरिएको थियो ।

त्यसै गरी आजको बैठकले कार्यव्यवस्था परामर्श समिति पनि गठन गरेको छ । सभामुखको नेतृत्वमा रहने कार्यव्यवस्था परामर्श समितिमा एमालेका भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायण आचार्य, माओवादी केन्द्रबाट दधिराम न्यौपाने र इन्द्रजित थारु, कांग्रेसबाट विरबहादुर राना र रमा अर्याल, संघिय समाजबादी फोरमबाट विजय यादब, राष्ट्रिय जनमोर्चाबाट तारा जिसी रहनुभएको छ ।

एक सदस्य राजपाको लागी राखिएको छ । उपसभामुख र कानून मन्त्री पदेन सदस्य रहने संसद सचिवालयले जनाएको छ । बैठकको सुरुमा सभामुख पूर्णबहादुर घर्तिले प्रदेश प्रमुखबाट शंकर पोखरेललाई मुख्य मन्त्री नियुक्ती गरिएको पत्र पढेर सुनाउनुभएको थियो ।